पुनः जुर्मुराउदै कन्दरा व्याण्ड, देशैभरी साँगीतिक कार्यक्रम आयोजना गर्ने

पुनः जुर्मुराउदै कन्दरा व्याण्ड, देशैभरी साँगीतिक कार्यक्रम आयोजना गर्ने

राजाराम पौडेल,पोखरा । नेपालको चर्चित पप व्याण्ड कन्दराका मुख्य भोकलिष्ट विवेक श्रेष्ठ पोखरामा जन्मिए पनि बाल्यकाल भने स्याङ्गजाको वालिङमा बितेको थियो । कक्षा सात सम्म आफ्नो ठुलीआमाको घर वालिङ बसेर पढेका उनी सानैदेखि गीतसंगीत तर्फ रुचि राख्दथे । तर पारिवारिक वातावरण संगीतमय नभएको कारण यात्रा अगाडि बढाउन सहज थिएन । वालिङमानै पढ्ने क्रममा दार्जलिङबाट आएका शिक्षकको आग्रहमा उनले आफ्नो प्रतिभा सुनाउन थाले । यसबाट पाएको सकारात्मक प्रतिक्रियाले उनी अगाडि बढ्न हौसीएपनि ।

आठ कक्षा पढ्न उनी पोखरामा आए । पोखराको बाराही स्कुलमा भर्ना भएका उनको भेट सुनील थापा सँग हुन पुग्यो । स्कुल पढ्ने क्रममा सुनीलले टेबल बजाउने विवेकले गीत गुनगुनाउने गर्न थाले । विस्तार उनीहरुका गीत सहकर्मी साथीले मात्र नभएर शिक्षकले समेत रुची पुर्वक सुन्न थाले । फलस्वरुप यात्रा अगाडि बढाउन उनीहरुलाई पेरणा मिल्न पुग्यो । त्यतिबेला कला र संगीतमा रुची राख्ने युवाहरुले गठन गरेको पिस ह्यान्की क्लवमा सुनील थापा आबद्ध थिए ।

सुनीलकै आग्रहमा सुनीललेनै रचना र संगीत दिएको ‘आजभोली रात’ बोलको गीतमा विवेकले आवाज दिए । जुन बेला उनको उमेर १३ वर्षको मात्र थियो । यो गीत मार्फत उनको पहिचान बन्यो । उनले पिस ह्यान्की समहुमा तीन वर्ष आवद्ध रहे । त्यही समयमानै पिस ह्यान्की समुहमा रहेका रक शैलीका गीत मनपराउनेहरुले ‘२४ क्यारेट’ नामको रक व्याण्डको स्थापना गरे । जस्मा बुद्धराज बर्जाचार्य, बिजय गुरुङ्ग, दिपकराज मुल्मी, आनन्द तजिया, सुनील भट्टचन आवद्ध थिए ।

२४ क्यारेट नामको रक व्याण्डनै पछि गएर कन्दरा समुहको चिनिन पुग्यो । एकदिन घरमानै किक्रेट खेलिरहेका विवेकलाई कन्दराका मेनेजर दिपकराज मुल्मीले गीत रेर्कडका लागि काठमाण्डौ जान आग्रह गरे । जुन समयमा उनी पिस ह्यान्की समुहमानै आवद्ध थिए । अनि घरमा कुरा गरेर विवेक कन्दरा समुहका साथीहरुको साथमा गीत रेर्कडको लागि काठमाण्डौँ हानीए ।

‘चञ्चले कान्छी’ गीत रेर्कड गर्न भनेर गएका विवेकले लगातार पाँच गीतमा आवाज भर्न पाए । ती गीतले एक पछि अर्को गर्दै श्रोताको मन जित्न सफल भए । कन्सर्टको लागि कन्दरा समुहलाई अफर आउन थाल्यो अनि बाध्य भएर विवेक श्रेष्ठ पिस ह्यान्की छाडि कन्दरामानै आए । आफुमात्र होइन सुनील थापा र अमर गुरुङ्गलाई समेत कन्दरामा आवद्ध विवेकले गराए । अनि कन्दरा समुहको सक्रियता नेपाली साँगीतिक फाँटमा निकै नै बढेर गयो ।

कन्दरा समुहमा अमित गुरुङ, असिम शेरचन, अविनाश गायक र अनिल गुरुङ लगायतले समेत व्याण्ड मेम्बरको रुपमा काम गरें । विभिन्न समयमा नयाँ–नयाँ जोशका साथ व्याण्डलाई पुनः पुरानै लयमा फर्काउने प्रयास सफल हुन सकेन । ३० वर्षको लामो इतिहास बनाइसकेको कन्दरा व्याण्ड पुनः जुर्मुराउन खोजेको छ ।

लोकलयमा आधारित पप गीत मार्फत संगीत पारखीको माया बटुल्न सफल व्याण्डले नयाँ अभियानका लागि व्यवस्थापक समेत पाएको छ । अब यो व्याण्डको व्यवस्थापनको जिम्मेवारी आदि ग्रुप प्रालिले गर्नेछ । व्यवस्थापककको जिम्मेवारी पाएसँगै आदि ग्रुपले व्याण्डको पुनर्संरचना समेत गरेको छ । जस अनुसार व्याण्डको स्थापनाकर्ता विवेक श्रेष्ठ र सुनिल थापासँगै नेपालमा पहिलोपटक जिप्सीज्याज म्युजिक गुञ्जयमान गराएका हरि महर्जनलाई गितारको अख्तियारी सुम्पेको छ । पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनलाई जिम्मेवारी दिइएको छ । व्यवस्थापकको जिम्मेवारी आदि गु्रपका परिकल्पनाकार आशिष पराजुलीले सम्हालेका छन् । पुराना व्याण्ड मेम्बरहरुले पर्याप्त समय दिन नसक्दा व्याण्ड मेम्बर परिवर्तन गर्नु परेको शुक्रबार पोखरामा ‘सञ्चारकर्मीसँग कन्दरा’ शिर्षकमा अन्तरक्रिया कार्यक्रममा आदि ग्रुपका प्रबन्धक निर्देशक आशिष पराजुलीले खुलाए ।

नयाँ व्यस्थापक भेटाएसँगै कन्दराले ‘पहिले घर अनि परदेश, घरदेश घुमौँ पर्यटनको प्रवर्द्धन गरौं’ भन्ने उद्घोषका साथ देशैभर साँगीतिक कार्यक्रम गर्ने भएको छ । जसको सुरुवाता आगामी मंसिर १६ गते पोखराबाट हुने व्याण्डका मुख्य भोकलिष्ट विवेक श्रेष्ठले जानकारी दिए । पाेखरामा गर्ने कार्यक्रमको नाम ‘घर आँउदै कन्दरा” तय भएको छ । देशका सातै प्रदेश र मुख्य सहरमा साँगीतिक कार्यक्रम गरी समापन काठमाडौंमा गरिनेछ । यो अभियानमा कन्दरालाई पोखरा पर्यटन परिषदले साथ दिनेछ । देशैभरी आयोजना हुने सांगीतिक कार्यक्रमले पोखरामा आन्तरिक पर्यटकको संख्या बढाउन सहयोग पुर्‍याउने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठको विश्वास छ ।

कन्दराले ७३ वर्षको इतिहास बोकेको रेडियो नेपालमा ५ वटा गीतहरूको ‘वान टेक रेकर्डिङ र सुटिङ’ सम्पन्न समेत गरेको छ । जुन गीत अब क्रमश रिलिज गर्दे जाने उसको तयारी छ । यी मध्ये गीतकार आनन्द अधिकारीको शब्द रचना रहेको ‘विचारा म..’बोलको गीत आगामी शुक्रबार सार्वजनिक गर्ने तयारी भएको गायक श्रेष्ठले खुलाए ।

२०५० मा पहिलो एलबम ‘चञ्चले कान्छी’ निकालेको कन्दराले २०५२ मा ‘डाँडापारी’, २०५५ मा ‘हङकङ पोखरा’, २०६२ सालमा चौथो एल्बम ‘वर्षौपछि’ र पाँचौ एल्बम भेडिगोठमै वि.स.२०७२ सालमा बजारमा पस्केको थियो । त्यसोत कन्दरा व्याण्डका मुख्य भोकलिष्ट विवेकको २०५७ मा सोलो एल्बम ‘उत्सव’ समेत बजारमा आएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञाशालाई गायक श्रेष्ठ, संगीतकार थापा, प्रबन्ध निर्देशक पराजुलीले मेटाएका थिए । नयाँ जोशका साथ यात्रा पुनः थालेको कन्दराले अब यात्रालाई नरोक्ने बताएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्