काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन भन्दा अगाडिको गठबन्धन सैद्धान्तिक हिसाबले गलत भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन भन्दा अगाडि गर्ने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने हुँदा निर्वाचन भन्दा अगाडिको गठबन्धन सैद्धान्तिक हिसाबले गलत रहेको बताएका हुन् ।
उनले भने,‘नेपालमा लोकतन्त्रको जुन ठाउँमा छौं,निर्वाचनको जुन अभ्यासमा छौं, यो सबै ठाउँमा बसेर हेर्दा निर्वाचन भन्दा अगाडि गर्ने गठबन्धनले हाम्रो लोकतान्त्रिक संस्कृतिलाई यति विकृत बनाउँछ जसको कारणले गर्दा हाम्रो लोकतन्त्रले जुन चरित्र र विशेषता बोक्नुपर्ने हो, त्यो सक्दैन । त्यसैले निर्वाचन भन्दा अगाडिको गठबन्धन रणनीतिको हिसाबले फाईदा होला तर सैद्धान्तिक हिसाबले गलत छ । जुन कुरा सैद्धान्तिक हिसाबले गलत छ । त्यसलाई कुनै रणनीति बनाएर देशको सेवा गर्न मिल्दैन ।’
उनले पछिल्लो समयमा विश्वभरी नै प्रजातन्त्रमा पपुलिजमको एकदमै ठूलो चुनौती रहेको टिप्पणी गरे । पपुलिजम रोग जस्तै सल्किँदै आउने भएकाले यसले सबै क्षेत्रमा गाँजेको उनको भनाई छ ।
उनले भने,‘पछिल्लो समयमा नेपालमा मात्र नभएर विश्वभरी नै प्रजातन्त्रको एकदमै ठूलो चुनौती भनेको नै पपुलिजमको चुनौती रहेको छ । यो पपुलिजम एउटै आकार र स्वरूपमा आउँदैन । यो पनि एउटा रोग जस्तै सल्किँदै आउने हो । यसले मिडियालाई पनि गाँजेको हुन्छ, समाजलाई र हाम्रो संस्थालाई पनि गाँजेको हुन्छ ।’
उनले प्रेसलाई पपुलिजमको रोगबाट नेपालको लोकतन्त्रलाई जोगाउन आग्रह गरे ।