विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मध्यावधि निर्वाचनमा जाने अवस्था आउन नदिन एमालेले निकास दिएको बताएका छन् ।
मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिन आज बसेको प्रदेशसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
लामो संघर्षबाट संघीयता प्राप्त भएको भन्दै कार्कीले मध्यावधि निर्वाचनमा जाने अवस्थाबाट प्रदेशलाई रोक्न कांग्रेसका कार्कीलाई सहयोग र समर्थन गरेको उनले बताए ।
अरुको अस्तित्वलाई स्वीकार गर्दै मिलेर अघि बढ्दा प्रदेशको समृद्धि हुने भएकाले सबै मिलेर अघि बढ्न उनले आग्रह गरे ।
उनले भने, ‘होइन, तपाईंहरु आफैं मिलेर अघि बढ्नुहुन्छ भने हामी बाहिर बसेर काम गर्न तयार छौं, तर हामी हाम्रो मूल्य मान्यतालाई कुल्चिएर कसैसँग सम्झौता गर्न चाहँदैनौं ।’
मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था नआओस् भनेर नयाँ सरकार गठनमा हामीले सहयोग गरेको बताएका उनले मध्यावधि निर्वाचनमा जाँदा जनतामा संघीयताप्रति नै नकारात्मक धारणा बन्न सक्ने जोखिम भएकाले वर्तमान अवस्थालाई निकास दिनुपर्ने कुरालाई ख्याल गरिएको बताए ।
सरकारले प्रदेशको स्थिरता र स्थायित्वका लागि काम गर्नु पर्ने अवस्था रहेको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले यसका लागि सबै दलले सहयोग गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीलाई एमालेले पूर्ण रुपमा विश्वासको मत दिने उल्लेख गर्दै उनले अरु सबै दललाई पनि विश्वासको मत दिएर सहयोग गर्न आग्रह गरे ।