बिराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित औषधिसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट विभिन्न नामका प्रतिबन्धित औषधि बरामद गरिएको छ ।
सुनसरी, उदयपुर र मोरङका विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई मंगलबार र बुधबार पक्राउ गरेको हो ।
कोशी प्रदेश प्रहरीका कार्यालयका अनुसार सुनसरीको बराहक्षेत्र–१० स्थित धिरज मेडिकल हलमा प्रतिबन्धित औषधिहरु बिक्री बितरण हुने सूचनाका आधारमा निगरानी गरिएको थियो ।
त्यस क्रममा पुगेको प्रहरी चौकी प्रकाशपुरको प्रहरी टोलीले मेडिकलबाट स्पास्पेन नामक औषधि १ सय ६७ थान, प्रेगास्टार १ सय ३० र एन्टिकफ ४७ ट्याबलेट बरामद गरेको थियो ।
उक्त मेडिकलका सञ्चालक ४५ बर्षीय दिपेन्द्रकुमार गोइत, औषधी बिक्री गर्ने उनकी श्रीमती ४३ बर्षीया पुनमकुमारी गोइत र मेडिकलमा काम गर्ने इनरुवा–६ का २९ बर्षीय रामानन्द मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुनसरीकै बराहक्षेत्र नगरपालिका–११ स्थित प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र–१० का २३ बर्षीय ज्ञानु मगर र ३६ बर्षीय राजु उराउलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनीहरुको साथबाट ट्रामाडोल नामक औपाधि ३ सय ट्याबलेट बरामद गरेको जनाएको छ ।
त्यसैगरी प्रहरी चौकी बेलस्रोत उदयपुरबाट खटिएको प्रहरी टोलीले स्पास्मो ट्याब्लेट १५ सय चक्की र डिकोफ, टेनाग, कोफ ट्याबडी गरी २ हजार १४ ट्याब्लेट औषधिसहित कटारी–३ का ३१ बर्षीय चन्द्रकुमार सुनुवार र ३५ बर्षीय तेजेन्द्र सुनुवारलाई पक्राउ गरिएको छ ।
यसैगरी, मोरङको विराटनगर–१५ मा लागूऔषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बेलबारी–३ का १९ बर्षीय नवीन महरालाई लुपिजेशिक ८, फेनारागन ८, डाइजोपाम ८ र ऐभिल ८ एम्पुलसहित नियन्त्रणमा लिएको छ ।
प्रतिवन्धित औषधिसहित पक्राउ परेकाहरुबारे सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।