बिर्तामोड । दोस्रो संस्करणको नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक एकता स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा हराउँदै झापा एफसी उपाधिनजिक पुगेको हो ।
झापा एफसीले उपाधिका लागि कात्तिक ३ गते मोफसलको अर्को चर्चित टिम झापा ११ एफसीको सामना गर्नेछ । झापा ११ ले सैनिक युथ क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।
आजको खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाउँदै प्रहार गरे पनि गोल हुन सकेन । निर्धारित ६० मिनेटमा दुवै टिम शून्यको अवस्था रहेपछि खेल सिधै टाइब्रेकरतर्फ धकेलिएको थियो ।
टाइब्रेकरमा झापाका लागि पाँचैजना खेलाडी तारानाथ राजवंशी, अनिष पोमु लिम्बू, सञ्जय धिमाल, पारस कार्की र आयुष श्रेष्ठले गोल गरे भने एकताका खमिर गिल्सन कन्दङवा, आशिष चापागाईं, विशाल बस्नेत र निशान तामाङले गोल गरे ।
एकताका मिलन राईको प्रहार झापाका गोल किप्पर योगेश धिमालले विफल बनाइदिएका थिए । आजको खेलको प्लेयर अफ द म्याच झापाका गोल किप्पर योगेश धिमाल भए । उनलाई आजका प्रमुख अतिथि देवी संग्रौलाले नगद तीन हजार प्रदान गरे ।
प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको छ । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।
प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए ।
त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।
२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।
अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य छ ।