काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । नागरिकता प्रदान गर्ने अभियानको सुरुमै नागरिकता पाएपछि एनआरएनका अध्यक्ष कुल आचार्यले अत्यन्तै सकारात्मक कार्यको थालनी भएको प्रतिक्रिया दिएका छन् ।
उनले नेपालको विकासमा संसारभरिका नेपालीलाई जोड्ने बाटो खुलेको र त्यो कोशेढुंगा सावित हुने बताए ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् ।
धेरै मिहेनत र लामो संघर्षपछि नागरिकता लिन सफल भएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘पाँच वर्षयता बेलायत भन्दा धेरै समय म नेपालमा बसेर काम गरेको छु । मैले मात्र होइन हाम्रा धेरै अग्रजले समेत गरेको धेरै ठूलो प्रयासपछि आज एउटा सुरुआत भएको छ । यो सुरुवात अत्यन्तै सकारात्मक र नेपालको विकासमा एउटा ठूलो कोशेढुंगा सावित हुने विश्वास छ ।’
नेपालीको मुद्दाको सम्बोधन गर्न आफूले धेरै मेहनत र त्याग गरेको स्मरण गर्दै उनले भने, ‘१५ वर्षको हुँदा बुवालाई गुमाएको मैले उहाँको स्याहार गर्न पाइनँ । ९० वर्षकी आमा, व्यापार र परिवारलाई मैले समय दिन पाएको छैन जति एनआरएनए नेपालीहरुको मुद्दाहरुमा लागेको छु । लामो समयबाट नागरिकता, सामाजिक सुरक्षा कोष, लगानी नेपालीसरह हुनुपर्छ, हामीले पनि मताधिकार पाउनुपर्छ भनेर लागें । नीति तथा कार्यक्रममा कसरी गैर आवासीय नेपालीको कुरालाई राख्ने तथा बजेटमा लागें । यसका लागि गरेको संघर्ष र मेहनत सानो छैन ।’
लामो समय नेपाली नागरिकताबिहीन भएर बस्दा दुःख लाग्ने गरेको र विविध समस्या भोगेको उल्लेख गर्दै उनले नागरिकता पाएपछि जीवन सरल हुने र आफूहरुले सामाजिक, सांस्कृतिलगायत अन्य अधिकारहरु पनि पूर्ण रुपमा प्राप्त गर्दै जाने विश्वास व्यक्त गरे ।
उनले भने, ‘एयरपोर्टमा भिसा लगाउँदै गर्दा र विदेशी पासपोर्ट बोकेर आउँदै गर्दा बहुत दुःख लाग्थ्यो । एनआरएनएको कार्ड लिइसकेपछि पनि त्यसमा छाप लगाउँदा होस् वा नेपालबाट फर्कने क्रममा एक दिनको लागि भिसा थप्न परे पेनाल्टी तिर्न पर्थ्यो । नेपाली भएर त्यो पेनाल्टी तिर्दाखेरी चित्त दुखाएर फर्किन पर्थ्यो । अब त्यो बन्द भएको छ र गैरआवासीय नेपाली नागरिकताले सामाजिक, आर्थिक, सांस्कृतिक अधिकार पूर्ण रुपमा प्राप्त गर्नेछ । दुःखका दिन अलि पर सर्नेछन् र नेपालको माया गर्ने नेपाली अलि जोडिनेछन् भन्ने लाग्छ ।’