रामेछापमा ट्राफिक सप्ताह सुरु, साताव्यापी सचेतना कार्यक्रम सञ्चालन

रामेछापमा ट्राफिक सप्ताह सुरु, साताव्यापी सचेतना कार्यक्रम सञ्चालन

रामेछाप । बडादशैँको बेलामा हुने ट्राफिक चापलाई व्यवस्थित गर्न सोमबारबाट जिल्ला सदरमुकाम मन्थलीमा ट्राफिक सप्ताह सुरु भएको छ ।

सोमबार बिहान मन्थलीको देवकोटा चोकमा कार्यक्रम आयोजना गरी ट्राफिक सप्ताह सुरु गरिएको हो । मन्थली नगरपालिका वडा नं १ को सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र सामुदायिक सेवा केन्द्र मन्थलीको आयाोजनामा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ ।

फूलपातीसम्म सप्ताहव्यापी कार्यक्रम हुने छ । जसमा बजारमा आउने सवारी साधन व्यवस्थापन, पैदलयात्रीलाई बाटो काट्न सहयोग गर्ने, सडक पेटीबाट मात्र हिँड्न अनुरोध गर्ने, ट्राफिक नियमको पालना गर्न अनुरोध गर्ने, सचेतनामूलक पर्चा वितरण गर्ने लगायतका कार्यक्रम छन् ।

ट्राफिक प्रहरी, नेपाल प्रहरी, स्काउट, सामुदायिक सेवा केन्द्र लगायतको सहकार्यमा कार्यक्रम सञ्चालन हुने सामुदायिक सेवा केन्द्र मन्थलीका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

ट्राफिक सप्ताह शुभारम्भ कार्यक्रममा मन्थली नगपालिका प्रमुख लब श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुली, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँ, सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा सदस्यहरू, नागरिक अगुवा, सुरक्षाकर्मी लगायतको सहभागिता थियो ।

शुभारम्भ कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले ट्राफिक नियमको पालना स्वअनुशासनको कुरा भएको बताए । स्वअनुशासन पालना नगर्दा दुर्घटनामा परी जीवन समेत जाने जोखिम भएको बताउँदै श्रेष्ठले यसको पालना गर्न सबैले सघाउनु पर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले ट्राफिक नियमबारे सचेतना फैलाउन पनि यो अभियानले सहयोग गर्ने बताइन् । सबैको सहयोग र सहकार्यले सडक यात्रालाई सुरक्षित बनाउन सकिने उनको भनाइ छ । सडक प्रयोग गर्ने सबै खालका सवारी साधन र नागरिकलाई सचेत गराउन ट्राफिक सप्ताहले मद्दत पुर्‍याउने उनले बताइन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्