किताब किन्नु खर्च होइन, लगानी होः विजय भण्डारी

किताब किन्नु खर्च होइन, लगानी होः विजय भण्डारी

राजाराम पौडेल,पोखरा । पोखरामा पाठकलाई पठन संस्कृतितर्फ उर्जा प्रदान गर्दै आएको हिमालयन रिडर्स कर्नरले दसैँको छेको पारेर पुस्तक मेलाको आयोजना गरेको छ । मेला मार्फत पुस्तक पढ्न रुचाउनेको लागि भारी छुटको अवसर सिर्जना गरेको कर्नरका सञ्चालक विजय भण्डारीले नेपाल अहिलेलाई बताए ।

‘हामीले नियमित रुपमा यस्तो मेला आयोजना गर्थ्यौ, यो छैटौं हो, विगत ६ वर्षदेखि पुस्तक मेला गरिरहेका छौं’ भण्डारीले भने ।

आम मानिसले दसैँमा खर्च बढी गर्ने, सरसामान किन्ने, तलब बोनस आउने भएकोले खर्च गर्नु भन्दा लगानी गर्नुपर्छ भनेर मेला आयोजना गरेका उनको भनाई छ । भण्डारी किताब किन्नु खर्च नभएर लगानी भएको बताउँछन् ।

‘किताब किन्नु खर्च होइन, खर्च सोचिरहनु भएको छ भने गलत हो, यो त खर्च नभएर लगानी हो, खर्च कतौटी गरेर लगानी गरौं भनेर मेला आयोजना गरेका हौं’ उनले खुलाए ।

मेलाको अवसरमा पुस्तक किन्नेलाई पुस्तक अनुसार र मुल्य अनुसारको छुटको व्यवस्था दिइएको छ ।
पाठकमा उर्जा थपियोस् र किताब किन्ने सामर्थ्य बढोस् भन्ने हेतुले छुटको अफर राखेको उनले सुनाए –‘हामीले विभिन्न खालका छुटका प्याकेज ल्याएका छौं, यसले पाठकमा उर्जा थपिने विश्वास छ’ ।

पोखरामा पुस्तक पढ्नेको अवस्था पहिलाको जस्तो नभएको भने उनी स्विकार्छन् । ‘नराम्रो छैन, राम्रै छ, गलत भनेको रिडर्समा हैन, हामीले किताब सिफारिस गर्न नजानेको हुन सक्छौं वा पब्लिकेशनले राम्रोे ननिकालेको हुनसक्छ, त्यो कारणले गर्दा रिडर्सको किन्ने क्षमता कम भएको छ’ उनले नेपाल अहिलेसँग भने ।

पाठकले खोजेजस्तो बौद्धिक खुराक नपुगेको कारण समेत पुस्तक पढ्नेको संख्यामा कमी आएको हुनसक्छ । हामीले जुन थुपारिरहेका छौं, जस्तो किताब आइरहेको छ त्यहीं नै पढिदीनुपर्ने भन्ने होइन । कतिले पाठकले पढेन भनिरहेका छौ । त्यो गलत लाग्छ । हामीले निकाल्न के निकालिरहेका छौ । कस्तो कन्टेन निकालिरहेका छौ । अहिले पनि आएर पुराना किताब नै सिफारिस गर्नुपर्ने होत ? उनको प्रश्न छ ।

अब लेखक र प्रकाशकले किन राम्रो पुस्तक निकालिरहेका छैनौं भनेर सोच्नुपर्ने उनी बताउँछन् । पाठकले किनेन, पढेन भनेर भन्नु उचित नलाग्ने तर्क उनको छ ।

आफ्ना पाठक कोर भएको कारण उनीहरुले नियमित रुपमा पुस्तक पढिरहेको र तीनै पाठकलाई फोकस गरेर मेला आयोजना गरेको उनले खुलाए । मेला कार्तीक ४ गते सम्म चल्नेछ । पाठकको चासोका कारण तिहारमा समेत मेला गर्ने सोच बनाएको उनले बताए ।

कर्नरले सदस्यता प्रदान गरेर समेत किताब पढ्ने कार्यमा सहजीकरण गरिरहेको छ । झण्डै २ हजार जनालाई सदस्यता प्रदान गरिएको उनले खुलाए । यी मध्ये नियमित सदस्यता नविकरण गर्ने १ सय ५० को हाराहारीमा छन् ।

पछिल्लो समयमा ‘फिक्सन’ पढ्ने मानीसको संख्यामा कमी आउने थालको भन्दै यसलाई बढाउनुपर्नेमा उनको जोड छ । ‘एउटा पोखराको जनसंख्या स्थिर छैन, मानिस लामो समय यहाँ बसिरहदैन, कि काठमाण्डौ जान्छ, कि बाहिर जान्छ पढ्छ अनि जान्छ, अर्को कुरा अहिले स्ट्रोङ रिडर्स जन्माउन गाह्रो भैरहेको छ, फिक्सन पढ्ने मानिसको कमी भएको छ, यो डरलाग्दो कुरा हो यो बढाउनुपर्छ ।’ उनले भने ।

पोखराको न्युरोडमा रहेको रिर्डस कर्नरमा नयाँ तथा पुराना अधिकांश कृति उपलब्ध हुन्छन् । विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म कर्नरमा बसेर निर्धक्कका साथ अध्ययन गर्न सकिन्छ । पाठकले यहाँ पुगेर कफी, सामान्य खाजा, कुकिज, चिया, लसी लगायतको स्वाद लिदै आफ्नो अध्ययनको भोक मेटाउन पाउँछन् । हरेक दिन खुल्ला रहने यसको विशेषता हो ।

पोखराको गैह्रापाटनमा १२ वर्ष अगाडि हिमालयन रिडर्स कर्नर मार्फत साहित्यिक पुस्तक बिक्रि सुरु गरेका भण्डारीले सेवा विस्तार गर्दै यसलाई सञ्चालनमा ल्याएका हुन् । कर्नरमा रहेको हलमा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना समेत हुने गरेकोले यो साहित्य क्षेत्रमा रुचि राख्ने नयाँ तथा पुराना श्रष्टाको भेटघाटको थलो समेत बनेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्