पोखरा । पोखरामा घटस्थापनाको दिन पारेर आजदेखि पुरानै स्थानबाट प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै मान्द्रेढुंगा सरेको प्याराग्लाइडिङ उडान ९ महिनापछि पुनः पोखरा १८ स्थित तोरीपानीबाट सुरु भएको हो । जनवरी १ बाट विमानस्थल सञ्चालनमा आएसँगै पोखरा-१८ स्थित सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङ उडान बन्द भएको थियो । पोखराबाट प्याराग्लाइडिङ विस्थापन हुने हल्ला चलिरहेको बेला विस्थापन नभई यसको व्यवस्थापन गर्नुपर्ने आवाज उठेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अध्ययन पश्चात् मान्द्रेढुंगाबाट उडान अनुमति दिएको थियो।
मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ उडान गर्दा भौगोलिक अवस्था, मौसम आदिका कारण जटिलता देखिएको र पर्यटकहरूसमेत निरुत्साहित भएको भन्दै नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले क्यानसँग उपयुक्त विकल्पबारे छलफल चलाएको थियो। तत् पश्चात् पुनः विभिन्न चरणमा भएका छलफल र अध्ययन पश्चात् क्यान तोरीपानीबाट उडान अनुमति प्रदान गर्न सहमत भएको हो ।
तोरीपानीबाट पुनः उडान भएसँगै प्याराग्लाइडिङ उडानमा विश्व कै पाँचौँ उत्कृष्ट गन्तव्य मानिने पोखराको प्याराग्लाइडिङलाई जोगाउन पर्छ भनेर सबैले गरेको प्रयत्नले धेरै हदसम्म सार्थकता पाएको ‘ना’ का सल्लाहकार शैलेन्द्र राउतले बताए । तोरीपानीबाट प्याराग्लाइडिङ उडान हुने भएसँगै पोखराको प्याराग्लाइडिङ पुरानै लयमा फर्किने राउतको भनाई छ । फेवाताल, हिमशृङ्खला लगायतका दृश्य आँखामा मात्र नभई पर्यटकले लिने फोटोमा समेत कैद हुने भएका कारण तोरीपानी यसअघि पर्यटकको रोजाइमा परेको उनले बताए । ‘तोरीपानीबाट लिन सकिने प्याराग्लाइडिङको मज्जा पर्यटकले मान्द्रेढुंगाबाट लिन सकेका थिएनन् । यहाँका व्यवसायी, पाइलटहरूलाई समेत मान्द्रेढुंगा असहज जस्तो बनेको थियो । अब तोरीपानीमा उडान फर्किएको छ, यहाँको प्याराग्लाइडिङ पुरानै अवस्थामा फर्किने देखिएको छ । हामी सबै उत्साहित छौँ,’ राउतले भने । ‘ना’ र यहाँका व्यवसायी पछिल्लो समय प्रविधिको अवलम्बन गर्ने कुरामा अग्र पङ्क्तिमा रहेको भन्दै उनले सराङकोटबाट समेत उडान सम्भाव्यताको अध्ययन भएमा त्यहाँबाट समेत उडान अनुमति पाउन सकिने र त्यसका लागि पहल आवश्यक रहेको बताए ।
पोखराको प्याराग्लाइडिङ उडानप्रति चासो राख्ने सबैको साथ, समर्थन र पहलका कारण पुनः तोरीपानीबाट उडान सुरु गर्न सम्भव भएको ‘ना’ का अध्यक्ष सुनिलबहादुर भट्टराई बताए । पोखराको प्याराग्लाइडिङलाई पहिलेकै अवस्थामा फर्काउने विषयलाई लिएर ‘ना’ र क्यानका पदाधिकारी सम्मिलित अध्ययन समितिले गरेको अध्ययनबाट सुरक्षित देखिएपछि क्यान तोरीपानीबाट उडान गर्न दिने निर्णयमा हालै मात्र पुगेको भट्टराईले बताए । ‘क्यानका पदाधिकारीले सुरक्षाको विषयलाई केन्द्रमा राखेर गरेको पटक-पटकको अध्ययन पश्चात् क्यानले तोरीपानीबाट उडान गर्न दिने निर्णय गरेको हो । सो निर्णयलाई लिएर केही दिन अघि मात्र एआईपी प्रकाशित भएको छ । निर्णय ३/४ दिन अघि नै भए पनि हामीले घटस्थापनाको शुभ साइत पारेर आजबाट तोरीपानीबाट नियमित उडान गरेका छौँ,’ अध्यक्ष भट्टराईले भने । अध्यक्ष भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा बन्द भएको प्याराग्लाइडिङको सोलो उडान समेत अव छिट्टै मान्द्रेढुंगाबाट सञ्चालन गर्ने गरी छलफल भइरहेको बताए ।
‘ना’ का महासचिव खेमराज आचार्यले तोरीपानीबाट पुनः उडान सुरु हुनु व्यवसायी, पाइलट र पर्यटक सबैका लागि सुखद विषय रहेको बताए । फेवाताल किनार खपौंदीमा अवतरण (ल्यान्डिङ) गराउने विषयमा समेत अध्ययन भएको र त्यसले छिट्टै मूर्त रूप पाउने विश्वास आफूहरूले लिएको आचार्यले बताए । त्यसका लागि अध्ययनसहितको प्रतिवेदन क्यानमा बुझाएर प्रक्रियामा रहेको उनले बताए । सुरक्षा हिसाबले ताल किनारको ल्यान्डिङ उच्च प्राथमिकतामा पर्ने भएकाले सोही अनुसारको प्रतिवेदन क्यानमा बुझाइएको उल्लेख गर्दै उनले सकारात्मक निर्णय हुने विषयमा सबै आशावादी रहेको बताए । ‘अध्ययनले फेवा ताल किनारमा ल्यान्डिङ गर्न मिल्ने देखिएको छ । हामीले प्रतिवेदन क्यानमा बुझाएका छौँ । क्यानले अध्ययन गरेर छिट्टै सकारात्मक निर्णय गर्नेछ भन्नेमा हामी आशावादी छौँ,’ आचार्यले भने ।
प्याराग्लाइडिङ क्लबका अध्यक्ष दीपक थापाले मान्द्रेढुंगाबाट उडान गर्दा मौसम प्रायजसो प्रतिकुल हुने गरेको, बाटो लामो तथा अप्ठेरो समेत हुँदा पर्यटकलाई समेत असहजता हुने गरेकोमा पुनः तोरीपानी मै उडान सुरु हुँदा सबै पाइलटहरू खुसी भएको बताए । ‘पर्यटकले सुन्दरता र सहजता दुवैका दृष्टिकोणले तोरीपानी उपयुक्त गन्तव्यको रूपमा लिनुभएको थियो । पर्यटकको सन्तुष्टि नै हाम्रो लागि सन्तुष्टि हुने भएकाले तोरीपानीबाट उडान गर्दा पर्यटकमा थप उत्साह छाउने र प्याराग्लाइडिङ उडान फस्टाउने हामीले विश्वास लिएका छौँ,’ गौतमले भने । तोरीपानीबाट पुनः उडान सुरु गर्न पाउँदा पुरानो घर फर्किन पाएको अनुभूति आफूहरूले गरेको उनले बताए ।
नेपाल हवाई खेलकुद संस्था(ना) र पोखरेली प्याराग्लाइडिङ व्यवसायीको पहलमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पुनः तोरीपानीमा उडान अनुमति दिएकोमा प्याराग्लाइडिङ व्यवसायी तथा पाइलट समेत रहेकी शर्मिला शर्माले खुसी व्यक्त गरिन । मान्द्रेढुंगा अपायक र टाढा भएकोले पर्यटकको रोजाइमा पर्न नसक्दा प्याराग्लाइडिङ व्यवसाय सुस्ताएको बताउँदै उनले तोरीपानीबाट उडान पुनः सुरु भएसँगै सबै उत्साहित भएको बताइन्। ‘तोरीपानी उडानका हिसाबले निकै सुरक्षित र पर्यटकका लागि निकै रमणीय स्थल हो । मान्द्रेढुंगा सबैका लागि असहज बनेको थियो । अहिले फेरी यहाँबाट उडान भर्न पाउँदा आनन्द लागेको छ । पोखराको प्याराग्लाइडिङ फेरी पहिलेको जस्तै हुन्छ भन्ने लागेको छ,’ उनले भनिन् ।
पाइलट नारायण तिमिल्सिनाले मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ गर्दा धेरै पटक मौसमका कारण बिना उडान पर्यटक फर्किन परेको तितो अनुभव रहेको भन्दै उडान तोरीपानीमा फर्किएसँगै त्यस्तो अवस्थाको अन्त्य हुने भन्दै खुसी व्यक्त गरे । मान्द्रेढुंगा सरेसँगै घटेको प्याराग्लाइडिङको चार्म तोरीपानीले फर्काउने विश्वास उनको छ । ‘प्याराग्लाइडिङ गर्न थालेको यत्रो वर्ष भयो मान्द्रेढुंगाको जस्तो अवस्था आएको थिएन । पर्यटकसमेत फर्किनु पर्दा निराश बन्ने अवस्था थियो। अब फेरी तोरीपानी नै फर्किन पाउँदा ठुलो आशा जागेको छ,’ तिमिल्सिनाले भने ।
पछिल्लो समय लामो यात्रा, खराब सडक, मौसम, भौगोलिक बनावट तथा सुन्दरताका कारण मान्द्रेढुंगामा प्याराग्लाइडिङ फस्टाउन नसक्दा प्याराग्लाइडिङ व्यवसायी, पाइलट तथा पर्यटक समेत निराश बनेका थिए । मान्द्रेढुङ्गाबाट तोरीपानी उडान फर्किदा दुइतर्फी ४ किमी दुरी छोटिएको छ । भौगोलिक हिसाबले सुगम, बजारबाट नजिक, प्राकृतिक हिसाबले सुन्दर तथा विगतमा सफल उडान भएको स्थान तोरीपानीमा उडान फर्किदा स्थानीय देखी व्यवसायीसम्म सबैमा उत्साह थपेको छ । ना का अनुसार पोखरामा हाल ६२ वटा व्यवसायिक कम्पनीहरु रहेका छन भने ३९९ प्याराग्लाइडिङ पाइलटहरु क्रियाशील रहेका छन् । हाल प्याराग्लाइडिङ उडान शुल्क १२ हजार रुपैयाँ कायम गरिएको छ ।
तोरीपानीबाट पुनः उडान सुरु हुने भएपछि आइतबार स्थानीय युवा क्लबको सक्रियतामा आमासमुह र स्थानीयले एक कार्यक्रम राखेर ‘ना’ का पदाधिकारी, पाइलट, व्यवसायी, पर्यटक र सरोकारवालाहरूलाई स्वागत गरेका थिए । ‘ना’ का अध्यक्ष सुनिलबहादुर भट्टराईले रिबन काटेर पुनः उडान सुरु कार्यक्रमको उद्घाटन गरेका थिए । प्याराग्लाइडिङ गर्ने थलोमा विधिपूर्वक पूजा गरेर उडान सुरु गरिएको थियो । त्यसअघि उक्त टोलीलाई पोखरा -१८ का वडाध्यक्ष पूर्णाखर तिमिल्सिनासहित स्थानीयले अबिर, माला र खादा लगाएर स्वागत गर्दै वडा प्रवेश गराएका थिए ।