रामेछाप । आज बडादशैँको घटस्थापना । धेरै मानिसलाई घटस्थापना गर्ने, पूजा कोठा सिँगार्ने, जमरा राख्ने कामको चटारो भयो ।
अरूलाई जमरा राख्ने चटारोको बेला रामेछापको खाँडादेवी गाउँपालिका–८ गा गलबासीलाई घटस्थापनाको चटारोसँगै अर्को चटारो पनि थपियो ।
गाउँमा आएको बसलाई पूजा गर्ने, बसमा आएका चालक, सहचालकलाई खादा माला लगाएर स्वागत गर्ने चटारो थियो गाउँवासीलाई ।
गागलमा सडक बनेको धेरै भयो । गागलको महाकालीथानसम्म सुमो पनि चल्छ । तर सुमोमा धेरै मानिस नअटाउने ।
सोझै काठमाडौँ जाने मानिसले सुमो भरिएपछि गाउँका मान्छे सडक बने पनि पैदल नै हिँड्नु पर्ने । ‘सडक केही साँघुरो थियो, यस पटक मर्मत गर्दा मोडमा केही सुधार गरेर ठूला बनायौँ र बस चल्न सक्ने भयो’, खाँडदेवी–८ का वडाध्यक्ष जंगलाल तामाङले भने ।
गाउँमा बस आउने भएपछि बिहानदेखि गाउँलेहरू सगुन तयार गरेर बसेका थिए ।
गाउँमा गाडी पुग्ने बित्तिकै गाउँलेहरू जम्मा भएर बसको पूजाआजा गरे । सडकको बिचमा सगुन राखियो । सबै गाउँले जम्मा भए । चालक सहचालक लगायत बसका स्टाफलाई खादा माला लगाइदिए, सगुन खुवाए, गाउँलेले पनि सगुन खाएर खुसीयाली मनाए ।
गागलबासीलाई काठमाडौँ जान पाए सुमो नपाए बस चढ्न गाउँबाट तलसम्म झर्नुपथ्र्यो । अझ सदरमुकाम मन्थली आउनेले त ट्रक चढेर जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो । अब गाउँमा बस पुगेपछि बसमा यात्रा गर्न पाउने भएका छन् ।
काठमाडौंबाट खाँडादेवीको फुल्पाहुँदै जाने बस गागलको महाकालीथानबाट चिरंखुसम्म पुग्छ । जसले गर्दा गाल मात्रै होइन दोरम्बा गाउँपालिकाका केही वडाका स्थानीयलाई समेत आवागमनमा सहज र छोटो यात्रा हुने भएको छ । ‘नियमित बस चल्ने भएपछि स्थानीयलाई धेरै सजिलो हुने भएको छ’, स्थानीय गोपाल थोकरले भने ।
चिरंखुबाट अब दैनिक बस सेवा सञ्चालन हुने वडाध्यक्ष जंगलालले बताए । ‘खाँडादेवी यातायात समितिलाई कुरा गरेका छौँ, अब दैनिक बस सेवा सञ्चालन हुन्छ, स्थानीयलाई काठमाडौं आउजाउ गर्न धेरै सजिलो हुन्छ’, उनले भने ।