राजाराम पौडेल,पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको न्यूरोडमा लगाएका बिरुवा चोरी भएको बताएका छन् । न्युरोडको सौन्दर्यतालाई ध्यान दिँदै रोपेका बिरुवा चोरी भएकोमा आचार्यले गुनासो गरें । सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु हरेक नागरिकको कर्तव्य हुने गरेपनि पोखराको न्युरोड जस्तो ठाउँमा बिरुवा चोरी हुनु दु:खद विषय भएको एक सार्वजनिक कार्यक्रम मार्फत नै उनले गुनासो गरें ।
प्रमुख आचार्य भन्छन् -‘न्युरोडमा त्यत्रो धेरैं महंगो बिरुवा लगाएको छ, अहिले बिरुवा उखेल्दै घर लाने, त्यहाँ तुलसी रोपेर छोडिदिने, बिरुवा उखेलेर घर लाने, बाटोको पहेलो झार लगेर त्यहाँ रोपिदिने, २६ सय विरुवा रोपेकोमा ९ सय विरुवा हराइसके, लाजमर्दो भयो यो न्युरोड जस्तो ठाउँमा ।’
सार्वजनिक सम्पत्तिको प्रयोग र रेखदेखमा सबैले ध्यान दिनुपर्नेमा उनको भनाइ थियो ।
बिरुवा चोरीको विषयमा पोखरा महानगरपालिका वातावरण शाखा प्रमुख निर्मलमान सिंह भण्डारीसँग बुझ्दा उनले न्युरोडमा १६ लाखभन्दा बढीको लगानीमा इक्सोरा प्रजातिको २६ सय ५ वटा विरुवा रोपिएको र ती मध्ये ९ सयको हाराहारीमा बिरुवा चोरी भएको नेपाल अहिलेलाई बताए ।
ती बिरुवालाई तीन महिनासम्म रेखदेख गर्ने जिम्मेवारी बसन्त नर्सरीलाई दिइएको कारण यसको नोक्सानी भने महानगरले बेहोर्नुपर्ने छैन । तीन महिनाको अवधिमा बिरुवा मरेमा वा चोरी भएमा त्यसको क्षती नर्सरीलेनै बेहोर्नुपर्ने सम्झौता रहेको भण्डारीले खुलाए ।
पोखरा महानगरपालिकाका प्रवक्त्ता मोतिलाल तिम्सीनाले फूलका बिरुवा उखेलेर फाल्ने दुईजना भारतीयमुलका नागरिकलाई सिसिटीभी फुटेजको आधारमा पक्राउ गरी दण्ड जरिवाना गरेर छोडिएको समेत बताए । उनीहरुले रातीको समयमा मादकपदार्थ सेवन गरेर मातिएको अवस्थामा बिरुवा उखेलेका थिए।
बसन्त नर्सरीका सञ्चालक बसन्त बानियाँले हालसम्म झण्डै ६ लाख रुपैयाँ हाराहारीको बिरुवा नोक्सान भएको नेपाल अहिलेसँग बताए । ‘६ लाख रुपैयाँ जति घाटा भैसक्यो, घाटै भएपनि मेरो पेशा हो, नोक्सान भएका बिरुवाको ठाउँमा नयाँ बिरुवा रोप्नेछु’ उनले भने ।
अहिले बिरुवा गोड्ने काम भइरहेकोले खाली ठाउँमा नयाँ बिरुवा दशैं पछि रोप्ने उनको जनाए । बिरुवा लगेर अनावश्यक विरुवा रोपिदिँदा झनै समस्या भएको उनको गुनासो छ ।
‘सभागृहचोक माथिका बिरुवामा राम्रो गाँज आएपनि नगरपालिका कार्यालय माथि त्यस्तो देखिदैन किनभने त्यहाँ अरुनै बिरुवा रोपिदिएका छन्’ उनले भने । त्यो ठाउँमा पँहेलो बनमारा जस्तो बिरुवा ल्याएर सारिदिएको उनले गुनासो गरें ।
‘रैथाने बिरुवाले इक्सोरा प्रजातिको बिरुवालाई असर पार्छ, मल सबै खाइदिन्छ’ उनले थपे । बिरुवा बिहान तथा साँझ र बत्ति गएको समयमा बढी चोरी हुने गरेको बानियाँले बताए ।
घामपानी सहन सक्ने क्षमता भएको, बाह्रै महिना फुल्ने र बुट्यानको रूपमा हुर्कने इक्सोरा प्रजातिको बिरुवा पोखराका लागि उपयुक्त हुने बताइएको थियो । यो बिरुवामा मल जराबाट नभइ पातबाट दिनुपर्छ । इक्सोरा सदाबहार र एक पटक लगाएपछि अर्को पटक लगाउन नपर्ने बिरुवा समेत हो । स्मार्ट सडक बत्ती सहित निर्माण गरिएको डिभाइडरमा गोलाकार आकार, आकर्षक र चम्किला पातहरूका कारण सुन्दर देखिने भएकोले यी बिरुवा लगाइएको हो ।
हाल बसन्त नर्सरीले बिरुवाको रेखदेख गरेकोमा तीन महिनापछी यो जिम्मेवारी महानगरपालिकाको नै हुनेछ । पोखरा महानगरपालिकाले ग्रिन पोखरा क्लिन पोखराको अवधारणा राखेर वृक्षरोपण कार्यलाई निरन्तर अगाडि बढाइरहेको छ ।