धेरै पढ्नु महत्वपूर्ण होइन, पढेको कुरा मनन गर्नसक्नु महत्वपूर्ण हो: सरुभक्त

धेरै पढ्नु महत्वपूर्ण होइन, पढेको कुरा मनन गर्नसक्नु महत्वपूर्ण हो: सरुभक्त

राजाराम पौडेल, पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा ‘के पढ्ने किन पढ्ने’ शिर्षकमा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने उद्धेश्यले दशैंको छेको पारेर हिमालयन रिर्डस कर्नरमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पठन कार्यमा रुचि राख्ने दर्शकहरु सहभागी बनेका थिए ।

कार्यक्रमको वक्ताको रुपमा वरिष्ठ साहित्यकार सरुभक्त, महिलावादी चिन्तक डा.चन्द्रा भद्रा र संस्थाका परिकल्पनाकार गनेस पौडेल थिए । तीनजना वक्ताको लागि आयोजकले समान २०–२० मिनेटको समय निर्धारण गरेका थिए । सुरुमा बोलेका संस्थाका परिकल्पनाकार समेत रहेका लेखक गनेसले निर्धारित समय भन्दा ७ मिनेट बढी र प्राध्यापक समेत रहेकी डा.चन्द्राले ९ मिनेट बढी बोल्दै यो विषयको बारेमा बुझाउने प्रयास गरें । उनीहरुले राखेका भनाईले ठ्याक्कै शिर्षकलाई मसिनोगरी बुझाउन नसकेपनि  केही ज्ञान भने थप्यो । कुनैबेला उनीहरु शिर्षक अनुसारको दायरामा आउथें, कुनैबेला त्यो भन्दा धेरैं टाढा पुग्थे । आफूहरुले के कस्ता विषयका पुस्तक पढ्ने गरेका छौं, पुस्तक पढ्ने क्रम कसरी सुरुवात भएको थियो लगायतका विषयमा उनीहरुले अनुभव सेयर भने गरें ।

विषयवस्तुलाई गहिराइमा बुझ्न पाउने उद्धेश्यले कार्यक्रममा पुगेका पाठकको तृष्णा बाँकी नै थियो । उक्त तृष्णा अन्तिम वक्ताको रुपमा उपस्थित भएका नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका वरिष्ठ साहित्यकार सरुभक्तले मेटाउन सफल भए ।

बोल्दै जाँदा कहिलेकाँही बहकिएर लामो बोल्ने आरोप समेत आउने गरेका उनी यो पटक सचेत थिए । सितिमिति लेखेर भनाई नराख्ने उनी आज लिखितरुपमा नै भनाई लिएर उपस्थित भए । आफुलाई प्रदान गरिएको समय भन्दा केही अगाडि नै भनाई सकेका उनले विषयवस्तुलाई यति मसिनो गरी प्रकाश पारिदिए की त्यसपछाडि उपस्थित दर्शकको लागि छुट्टयाइएको समयमा समेत यो विषयमा अरु कसैले विचार राख्ने हिम्मत नै गरेनन् ।


सरुभक्तले साहित्यकारले झण्डा बोक्ने कि सिर्जनाको विराट विश्व निर्माण गर्ने भनी प्रश्न गरें ।

‘हामी सिर्जनधर्मी साहित्यकार–हामी पनि कम्तीका छैनौं झण्डा बोक्न । कहिले झण्डा फेरफार गरेर बोक्न । साहित्यकारले झण्डा बोक्ने कि सिर्जनाको विराट विश्व निर्माण गर्ने? जहाँ सबैको बास होस् जहाँ सर्वत्र आस होस्’ उनले भने ।

कोही व्यक्क्तिले आफुलाई कुन किताब पढ्ने भनेर सोध्यो भने उसलाई कुन झण्डा बोक्नुहुन्छ भनेर सोध्नुपर्ने स्थिती आएको बताए ।
‘म यो सानो कार्यक्रम कक्षमा झण्डा बोक्ने कति छन् भनेर जनमत सङ्ग्रह गर्दिनँ, तर मेरो समस्या छ, कसैले मलाई कुन किताब वा सो सरह अरू माध्यममा पढ्ने भनी सोध्नु भयो भने किताबको नाम भन्नुभन्दा पहिले मैले सोध्नुपर्छ, तपाईं कुन झण्डा बोक्नुहुन्छ वा अहिले बोकिराख्नुभएको छ ?’ उनले थपे ।

उनले पढ्नु महत्वपूर्ण, के पढ्ने महत्वपूर्ण होइन । जानेर पढ्नु महत्वपूर्ण होइन, नजानेर पढ्नु महत्वपूर्ण कुरा हो । धेरै पढ्नु महत्वपूर्ण कुरा होइन, पढेको कुरालाई मनन गर्नसक्नु महत्वपूर्ण कुरा हुने बताए ।

उनी भन्छ्न–‘पढेको कुरा सम्झिबस्नु महत्वपूर्ण कुरा होइन, त्यसलाई अन्तर्यमा विश्लेषण गर्नु महत्वपूर्ण कुरा हो । पढाइले मानिसलाई ज्ञानी मात्र बनाउँदैन, आग्रही पनि बनाउँछ । किताब छानेर पढ्नेहरूले किताब भन्दा पहिले चेतन–अचेतनमा आग्रह छानिसकेका हुन्छन् ।’

अरुको अभिरुचिको किताब पढ्न खोज्नेलाई उनले यसो भने -‘मेरो अभिरुचिको किताब पढ्छु भनेको मेरो आग्रहको किताब पढ्छु भनेको हो । मान्छे अहमद्वारा परिचालित छ । अहम् मान्छेको ज्ञान, विश्वास, परिवेश र नैसर्गिक परिवेशद्वारा निर्मित छ । अहमयुक्त विश्वमा किन पढ्ने भनी व्याख्यान दिनु, के कुरा पढ्ने भनी छनौट दिनु एक कोणिक विश्वास हो ।’

आफूले के पढ्ने भन्ने सल्लाह नदिने गरेको भन्दै उनले पढ्ने कुरा सल्लाह माग्नेलाई पहिल्यै थाहा हुने बताए ।
‘विश्व एक कोणद्वारा निर्मित छैन अनेक कोणद्वारा निर्मित छ । बहूकोणीय अहममा विश्वास गर्ने मान्छे म त्यसैले कसैलाई के पढ्ने भन्ने सल्लाह दिने इच्छा गर्दिन । किन पढ्ने भन्ने कुरा सल्लाह माग्नेलाई पहिल्यै थाहा हुन्छ ।’ उनको दावी थियो ।

कुन पुस्तक पढ्ने किन पढ्ने भनेर आफैलाई सोध्नुपर्ने उनको सुझाब छ । ‘तपाईं अरूलाई होइन आफैँलाई सोध्नुहोस् । आफ्नै अन्तरआत्मालाई सोध्नुहोस् । अन्तरआत्माले झूटो बोल्दैन भन्ने कथन कम्तीमा अहिलेको मितिसम्म झूटो मानिएको छैन ।’ उनले भने ।

सरुभक्तले विभिन्न विषयवस्तु, इतिहास र घटनाक्रमलाई उदाहरण दिँदै उपस्थित दर्शकलाई  सन्तुष्ट पारें । कार्यक्रममा उनले यहीं विषयलाई जोड्दै मुक्तक समेत सुनाए ।

संस्थाका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नेपाल प्रकाश अधिकारीले गरेका थिए । यस अगाडि कृति माथि परिचर्चा गर्ने गरेको र्‍यान्डमले १ सय १ औं श्रृखलालाई भने फरक शैलीमा सञ्चालन गरेको हो । दशैं लगायतका चाडको विदामा किताब पढ्ने योजना बनाएका र पठन संस्कृतिमा रुचि राख्नेहरुलाई पुस्तक छनोट गर्न र पुस्तक पढ्न सहयोग पुर्‍याउने हेतुले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष प्रभावीले जनाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्