पोखरा । आयोजकले व्यवस्थापनमा ध्यान नदिँदा पोखरामा जारी नेकपा (एमाले) गण्डकी प्रदेशको अधिवेशनमा सहभागी प्रतिनिधिले सास्ती भोग्नु परेको छ । अधिवेशन अन्तरगत निर्वाचन प्रक्रिया अगाडि बढ्दै गर्दा कलष्टर विभाजनमा त्रुटि देखिएपछि प्रक्रिया रोकिएको थियो । प्रकाशित तालिका अनुसार मनोनयन पत्रको फाराम लिन र बुझाउनको लागि झरीको प्रवाह नगरिकन रुज्दै लाइनमा बसेका प्रतिनिधि भने निरास बने । विवाद मिलेर कलष्टर मिलेर तुरुन्तै प्रक्रिया अगाडि बढ्ने आशामा उनीहरुले कुरिरहेका थिए । तर, यो विषय टुंगीन समय लाग्यो ।
‘मनोनयन फाराम वितरण गर्ने बेलामा विद्युतिय भोटिङ मेसिनमा सेट गर्ने क्रममा कलष्टर मिलेको देखिएन, खुल्ला, महिला, दलित, अपाङ्ग लगायतका कलष्टर स्पष्ट उल्लेख नहुँदा र नमिल्दा विवाद पनि भयो, पछि त्यसलाई मिलाइयो’ निर्वाचन कार्यालयका एक सदस्यले नेपाल अहिलेलाई भने ।
निर्वाचनबाट १ सय ६२ जना छानिनेछन् । जसमा पदाधिकारीमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव खुला १, उपसचिव महिला १ निर्वाचित हुनेछन् । यसैगरी खुल्ला प्रदेश सदस्य ५८ जनालाई विभिन्न कलष्टरमा बाँडिएको छ । जस अनुसार खुल्लामा २२ जना, महिलामा ११ जना, दलित महिलामा ५, अपाङ्गमा १, युवा खुल्ला १०, युवा महिला ५, मजदुर खुल्ला ३, मजदुर महिला १ जना निर्वाचित हुनेछन् ।
प्रदेश खुल्ला समावेशी सदस्यमा १३ जना निर्वाचित हुनेछन् । जसमा आदिवासी जनजाती खुल्ला ६, महिला ३, अल्पसंख्यक खुल्ला २, महिला १ र मुस्लिम १ जना निर्वाचित हुनेछन् ।
गण्डकी प्रदेशका ११ जिल्लामा रहेका १८ वटा संघिय निर्वाचन क्षेत्रबाट १–१ जनाको दरले १८ जना निर्वाचित हुनेछन् ।
यसैगरी जिल्ला भुगोलबाट ६१ जना निर्वाचित हुनेछ । यसरी निर्वाचित हुनेमा कास्कीबाट खुल्ला ४, महिला ४ र दलित १ जना गरेर ९ जना, गोरखाबाट खुल्ला २, महिला २ र दलित १ जना गरेर ५ जना, तनहुँबाट खुल्ला २, महिला ३ र दलित १ गरेर ६ जना, नवलपुरबाट खुल्ला ३, महिला ३ र दलित १ गरेर ७ जना, पर्वतबाट खुल्ला ३, महिला ३ र दलित १ गरेर ७ जना, बागलुङबाट खुल्ला ३, महिला २ र दलित १ गरेर ६ जना, मनाङबाट खुल्ला १ र दलित १ गरेर २ जना, मुस्ताङबाट खुल्ला १, महिला १ र दलित १ गरेर ३ जना, म्याग्दीबाट खुल्ला १, महिला २ र दलित १ गरेर ४ जना, स्याङ्जाबाट खुल्ला ३, महिला ३ र दलित १ जना गरेर ७ जना, लमजुङबाट खुल्ला २, महिला २ र दलित १ जना गरेर ५ जना निर्वाचित हुनेछन् ।
७ सदस्य भएको लेखा समिति निर्वाचित हुनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, खुल्ला सदस्य २, महिला सदस्य २ हुनेछन् ।
कलष्टर पूर्ण रुपमा मिलाउन र त्यसमाथि देखिएका विवाद मिलाउन समय लाग्दा निर्वाचनको कार्यतालिका परिमार्जन गर्नुपर्ने अवस्था आएकाे निर्वाचन कार्यालयले जनाएको छ। परिमार्जित तालिका अनुसार मनोनयन फाराम वितरण मंगलबार साँझबाट गरिएको छ ।
उम्मेदवारको मनोनयन फाराम दर्ता बुधबार बिहान ७ बजेबाट सुरु हुनेछ । परिमार्जित गरेर प्रकाशन गरिएको निर्वाचन कार्यक्रममा फेरबदल नभएरमा मतदान बुधबार साँझ सवा ५ बजेबाट सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
मतदानमा अधिवेशन प्रतिनिधिको रुपमा आएका गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९ सय ८ जना प्रतिनिधि सहभागी बन्नेछन् ।
यता एमाले गण्डकीको अधिवेशन मार्फत नयाँ नेतृत्व कसको हातमा पुग्छ भन्ने विषय भने थप पेचिलो बन्दै गएको छ ।
अधिवेशनमा नेतृत्वको लागि आकांक्षा राख्नेहरु धेरैं भएपनि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीबिच अन्तिम प्रतिष्पर्धा हुने लगभग निश्चित जस्तै भएको छ ।
उपाध्यक्षमा मिन प्रसाद गुरुङ, प्रभा कोइराला, मञ्जु अधिकारी, देवका पहारी, रोशन गाहा मगरले इच्छा जाहेर गरेको श्रोतको भनाइ छ ।
यस्तै सचिवमा हालका सचिव धनञ्जय दवाडी र हालका उपसचिव रश्मि आचार्य भिड्ने पक्का भएको छ । यसैगरी सचिवमा विष्णुभक्त्त सिग्देलले पनि इच्छा जाहेर गरेका छन् । उपसचिव पदमा माधव बाँस्तोलाले इच्छा जाहेर गरेका छन् ।
मनोनयन दर्ताको समयसम्म घटना क्रममा आउन सक्ने परिवर्तन समेतका आधारमा आकांक्षीको संख्या बढ्ने तथा पद हेरेफेर हुने सम्भावना उतिकै छ । नेतृत्व सहितका मुख्य पदमा सहमतिका केही प्रयास जारी नै रहेपनि सहमतिको सम्भावना टर्दै गएको श्रेतको दावी छ । मतदान विद्युतिय भोटिङ मेसिन मार्फत गर्ने तयारी गरिएकोले मतदान पश्चात नतिजा भने चाडै आउने अपेक्षा गरिएको छ ।


















