पोखरा । नेकमा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन अन्तरगत बन्दसत्र पोखरा सभागृहहलमा जारी रहेको छ । हिजो साँझबाट सुरु भएको बन्दसत्रमा हालका अध्यक्ष नवराज शर्माले प्रतिवेदन पेश गरेका छन् । उनले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्न अधिवेशन प्रतिनिधिलाई ८ भागमा विभाजन गरिएको छ । आज प्रतिवेदनमाथि व्यापक छलफल गरेर प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको एमाले गण्डकीका प्रचार विभाग प्रखुख रश्मि आचार्यले नेपाल अहिलेलाई जानकारी दिए । प्रतिवेदन पारित भैसकेपछि आजबाटनै निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी भैरहेको बुझिएको छ ।
अधिवेशनले १ सय ६५ सदस्यको प्रदेश कार्यसमिति निर्वाचित गर्नेछ । भोली १७ गते मतदान गरेर भोली नै रिजल्ट सार्वजनिक गर्ने तयारी एमाले गण्डकीले गरेको छ । एमाले गण्डकीको अधिवेशन मार्फत नयाँ नेतृत्व कसको हाता पुग्छ भन्ने विषय भने थप पेचिलो बन्दै गएको छ ।
अधिवेशनमा नेतृत्वको लागि आकांक्षा राख्नेहरु धेरैं भएपनि हालका अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीबिच अन्तिम प्रतिष्पर्धा हुने लगभग निश्चित जस्तै भएको छ । दुवैजनाले आफ्नो पक्षमा बहुमत प्रतिनिधि रहेको दावी गरिरहेका छन् । उनीहरुमध्ये कसले बाजी मार्छन् भनेर भन्न सक्ने अवस्था नदेखिएको श्रोतको दावी छ ।
शर्मालाई पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ रहेको छ । अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ रहेको छ । यसका अलावा अधिकारीले पार्टी सचिव पदमा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङको साथ पाउने आकलन गरिएको छ । सोही अनुसार प्रतिनिधिहरु विभाजित हुँदा निर्वाचन पेचिलो हुने सम्भावना बढ्न थालेको हो ।
उपाध्यक्षमा मिन प्रसाद गुरुङ, प्रभा कोइराला, मञ्जु अधिकारी, देवका पहारी, रोशन गाहा मगरले इच्छा जाहेर गरेको श्रोतको भनाइ छ । यसैगरी मोहन रेग्मी समेत उपाध्यक्षको उम्मेदवार बन्ने सम्भावना समेत रहेको बताइन्छ ।
यस्तै सचिवमा हालका सचिव धनञ्जय दवाडी र हालका उपसचिव रश्मि आचार्य भिड्ने पक्का भएको छ । यसैगरी सचिवमा विष्णुभक्त्त सिग्देलले पनि इच्छा जाहेर गरेका छन् । उपसचिव पदमा माधव बाँस्तोलाले इच्छा जाहेर गरेका छन् ।
निर्वाचन प्रक्रिया सुरु भए पश्चात तथा घटना क्रममा आउन सक्ने परिवर्तन समेतका आधारमा आकांक्षीको संख्या बढ्ने तथा पद हेरेफेर हुने सम्भावना उतिकै छ । नेतृत्व सहितका मुख्य पदमा सहमतिका केही प्रयास जारी नै रहेपनि सहमतिको सम्भावना टर्दै गएको श्रेतको दावी छ । मतदान विद्युतिय भोटिङ मेसिन मार्फत गर्ने तयारी गरिएकोले मतदान पश्चात नतिजा चाडै आउनेछ ।
अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९ सय ८ जना प्रतिनिधि सहभागी बनेका छन् । बाहिरबाट आएका प्रतिनिधिको आवास प्रबन्ध पोखराका २१ वटा होटलमा मिलाइएको एमाले गण्डकीले जनाएको छ ।
















