मुलुकलाई मन्दीतर्फ लाने कामको नेतृत्व वर्तमान सरकारले गर्‍योः महासचिव पोखरेल

मुलुकलाई मन्दीतर्फ लाने कामको नेतृत्व वर्तमान सरकारले गर्‍योः महासचिव पोखरेल

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अवैध अर्थतन्त्रलाई प्रोत्साहित गर्ने काम गरेको दावी गरेका छन् । पोखरामा सोमबारबाट सुरु भएको नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले भ्रष्टाचारको विषयमा जनताको बिचमा भ्रम सिर्जना गर्न खोजेको आरोप समेत लगाए ।

‘एकातिर सरकार म त भ्रष्टाचारको अभियानमा छु भनेर जनताका बिचमा भ्रम सिर्जना गर्दछ, अर्कोतिर सरकारको संयन्त्रको योजनामा त्रिभुवन विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्कर गर्ने खालको काम भैरहेको कुरा बाहिर आउँछ । तर सरकार निष्पक्ष छानबिनको लागि पनि तयार हुँदैन प्रतिपक्ष दलले दबाब दिनुपर्छ ।’ उनले भने ।

साच्चिकै सरकार सुशासनको पक्षमा हुन्थ्यो, तस्करीतन्त्रका विरुद्धमा हुन्थ्यो, भ्रष्टाचारका विरुद्धमा हुन्थ्यो भने छानबिनलाई प्रभावकारी बनाउने कुरामा सरकारले आनाकानी गर्ने थिएन । जतिबेला सुन समातिने गर्छ सत्ता पक्षका नेताको अनुहार नांगिने गरेको उनले सुनाए । सरकारले अमुक घटनाको बारेमा छानबिन गर्छौ भनेर प्रतिपक्षतर्फ इसारा गर्ने गरेको भन्दै छानबिन गर्न महासचिव पोखरेलले चुनौती दिए । यसरी छानबिन गर्दा जेल जाने भनेको सत्ता गठबन्धनकै नेता भएको दावी उनले गरें ।

‘जुनसुकै घटनाका बारेमा छानबिन गर्न हामी तयार छौं। तर हामी एउटै कुरा भन्छौ हरेक घटनालाई छानबिन गर अन्त्यमा जेल जाने भनेको सत्ताको नेतृत्व गरिरहेका गठबन्धनका नेताहरुनै हो, नेकपा एमाले होइन ।’ उनले भने ।

अर्को प्रसंगमा महासचिव पोखरेलले सरकारले पोखरा अन्तराष्ट्रिय विमानस्थल चल्न नदिएर आफ्नो अभिष्ट पुरा गर्न लागेको दावी गरें । अन्तराष्ट्रिय विमान कम्पनीहरुले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा विमान उडान अनुमतिको लागि पत्राचार गर्ने गर्दापनि सरकारले त्यसलाई कुनै रेसपोन्स नगरेको उनको भनाई छ ।

‘चिनियाँ लगानी भएका कारणले पोखरा अन्तराष्ट्रिय विमानस्थलले नेपाललाई आर्थिक संकटमा पार्‍यो भन्ने देखाउनका लागि अन्तराष्ट्रिय विमानस्थल चल्न नदिएर उनीहरु आफ्नो अभिष्ट पूर्ती गर्न खोज्दैछन् ।’ उनले भने । महासचिव पोखरेलले अविलम्ब प्रक्रिया अगाडि बढाउन सरकारको खबरदारी समेत गरें ।

वर्तमान सरकारले मुलुकलाई मन्दीतर्फ लाने कामको नेतृत्व गरिरहेको आरोप समेत पोखरेलले लगाए ।
‘आज मुलुक चौतर्फी संकटतर्फ उन्मुख रहेको छ । जनताको जीवन असहज बनेको छ । व्यापार व्यवसाय गर्नेहरुले व्यापार व्यवसाय ठप्प भएको अनुभुति गर्न थालेका छन् । संकटमा पुगेका छन् । आर्थिक क्रियाकलाप ठप्प छ । उद्योग कलकारखाना बन्द भैरहेका छन् । श्रमीकहरु बेरोजगार भैरहेका छन् । मुलुकलाई मन्दी तर्फ लैजाने कामको नेतृत्व गठबन्धन सरकारले गरिरहेको छ’ उनले भने ।

परमादेशबाट गठबन्धन सरकार निर्माण भएदेखिनै देश संकटतर्फ उन्मुख भएको अनुभुति भएको उनको भनाई थियो । सरकारले मुलुकको बैधानिक अर्थतन्त्रलाई कमजोर बनाउने र अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने काम गरिरहेको समेत उनले बताए ।

‘मुलुकको बैधानिक अर्थतन्त्र कमजोर बनाउने  र अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने खालका कामहरु भए, यो बिचमा बैधानिक तरिकाले व्यापार गर्ने व्यवसायी उद्योगी निरास बन्ने अवस्था भइरहेको छ । राज्यको ऋणात्मक भएको बेला सत्ताको निकट रहेका व्यापारीहरु अरबौको माहलक भैरहेका छन् । एकजनाको एक वर्षमा ४० अर्बको सम्पत्ति वृद्धि भैरहेको दृष्टान्त बाहिर आइरहेका छन् ।’ उनले थपे ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा प्रदेश इञ्चार्ज गोर्कण विष्ट, सचिव पदमा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतले सम्बोधन गरेका थिए । खराब मौसमका कारण अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल भने सहभागी हुन सकेनन् । अधिवेशनको बन्द सत्र सोमबारबाटै सुरु हुने एमाले गण्डकीले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्