पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमाले गण्डकी प्रदेशमा भैरहेको गुटबन्दी प्रति आक्रोश पोखेका छन् । १० घण्टाको अन्तरमा सामाजिक सञ्जाल फेसबुकमा दूई छुट्टाछुट्टै स्टाटस लेख्दै उनले यस्तो आक्रोश पोखेका हुन् ।
पहिलो स्टाटस मार्फत एमाले गण्डकीको अधिवेशनमा सर्वसम्मत नेतृत्वको विकल्म नभएको र विभाजनले कसैको हित नगर्ने उनले भनेका छन् । ‘सर्वसम्मत नेतृत्वको विकल्प छैन । विभाजनले कसैको हित गर्दैन ।’
उनको यो भनाइमा मिश्रित खालका प्रतिक्रिया आएको देखिन्छ । धेरैंले उनको धारणामा समर्थन गरेका छन् । सकबर सर्वसम्मत नेतृत्व चयन गर्न र सम्भव नभए लोकतान्त्रिक विधिको प्रयोग गर्न केहीको सुझाब छ । केही उनीतर्फ नै प्रश्न सोझ्याएका छन् ।
प्रकाश सापकोटा प्रश्न गर्छन् ‘हजुर पृथ्वीसुब्बा गुरुङ तिर हो की खगराज अधिकारी तिर हो’ ।
कृष्ण आचार्य रचित लेख्छन् ‘विभाजन गराउने नै टाउकेहरु छन् । खगराज गुट र पृथ्वीसुब्बा गुटको रमाइलो हेर्न पाइने भो भोलिदेखि’ ।
यस्तै धनबहादुर नेपाली कमेन्ट गर्छन् ‘प्रतिष्पर्धाबाट आएको नेतृत्व अझै अब्ल होला कि ? सर्वसम्मत सर्वोत्तम नभए सर्वसम्मत प्रतिष्पर्धा उच्चतम’ ।
नारायण पौडेल लेख्छन् ‘अन्तरपार्टी लोकतन्त्र जबजको आधारभुत आत्म हो ।’
दोस्रो स्टाटसमा त गुरुङ निकै आक्रोशित बनेको छन् । भैरहेका गुटगत गतिविधिलाई उनले अवसरवादी, अन्तरघाती र अराजक सोंच भनेका छन् । ‘अहिलेको गुटको आधार सिद्धान्त र विचारहिन महत्वाकाङ्क्षी, अवसरवादी, अन्तरघाती र अराजक सोंच नै हो ।’
उनको यो स्टाटसमा मिश्रित खालका प्रतिक्रिया आइरहेका छन् । केहीले उनीमाथि थपउपगुट निर्माण गर्न लागेको आरोप लगाएका छन् ।
विपिन ढकाल लेख्छन् ‘आफूले बाहेक कसैले पनि गुट बन्दी गर्न नपाउने अपानी जारी गरौ’
शिव शर्मा कमेन्ट गर्छन् ‘ठिक हो । गुट भएपछि चम्चाहरु अघिपछि लाग्छन् अनि गुटे नेता आफुलाइ महान ठान्छन् । गुटको कारण सबै पाटीहरु तहसनहस छन तर गुटे नेताको बुद्धि कहिल्यै फिरदैन ।गुटे नेताहरू कहिल्यै सफल हुदैनन् तर आत्मरतीमा रमाउछन । टुटेफुटे गुट=हैसियत सुन्य ।’
नारायण खत्रीले लेख्छन् ‘गुट एउटा रोग हो। यस्ले कसैको भलो गर्दैन। यस्को कुनै निती सिद्धान्त नै हुँदैन’ ।
गोकुल रिमाल लेख्छन् ‘यो कथा ओलिलाई सुनाउनुहोला आज’ ।
लोकराज शर्मा लेख्छन् ‘अवश्य कमरेड । सामूहिक नेतृत्व प्रणालीलाई ध्वस्त पारे पनि आखिर गुट त हुँदोरहेछ नि । विचार , सिद्धान्त , अनुशासनले जोडिएको भए पो ।’
सोमबारबाट पोखरामा सुरु हुन लागेको एमाले गण्डकी प्रदेशको अधिवेशनमा एमाले उपसचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीले आफ्नो प्रभाव देखाउन गुटलाई सक्रिय बनाएको कुरा स्थायी कमिटी सदस्य किरण गुरुङको यो स्टाटसबाट पुष्टी हुन्छ । दुवै नेताले गुटगत गतिविधि गरेका छैनौ भनेर जति नै दावी गरेपनि यहाँ भएका गतिविधिले प्रष्ट देखिनेगरीनै गुटगत गतिविधि भैरहेका छन् । यसको केही संकेत आइतबार पोखरामा भएको सञ्चारकर्मी भेटघाट कार्यक्रममा समेत देखिएको थियो ।
गण्डकी प्रदेशको नेतृत्वको लागि हालका अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीबिच अन्तिम प्रतिष्पर्धा हुने आकलन गरिएको छ । दुवैजनाले आफ्नो पक्षमा बहुमत प्रतिनिधि रहेको दावी गरिरहेका छन् । शर्मालाई पृथ्वीसुब्बा र अधिकारीलाई खगराज अधिकारीको साथ रहेको छ ।
नेतृत्वको लागि अन्य आकांक्षी समेत थपिने सम्भावना छ । स्थायी कमिटी सद्स्य किरण गुरुङ र सचिव पद्मा अर्यालको समर्थन कतातर्फ जान्छ त्यसले समेत नतिजामा प्रभाव पार्न सक्ने अनुमान कार्यकताको छ । पदाधिकारी तथा सदस्य पदमा पुग्नेहरुबिच समेत उस्तै हानथाप छ ।
सचिवमा पृथ्वीसुब्बाको समर्थनमा धनञ्जय दवाडी दोहोरिन कस्सिएका छन् भने वर्तमान उपसचिव रश्मि आचार्य खगराजको समर्थन र युवापुस्ताको साथका कारण दवाडी लक्ष्यमा तगारो बन्दैछन् ।
अधिवेशन मार्फत १ सय ६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट कुल ९ सय ८ जना प्रतिनिधि सहभागी हुनेछन् ।
अधिवेशनमा सबैभन्दा धेरैं प्रतिनिधि कास्की जिल्लाबाट रहनेछन् । कास्कीबाट कुल १ सय ४६ जना प्रतिनिधि सहभागी बन्दा स्याङजाबाट १ सय १३, पर्वतबाट १ सय १०, नवलपुरबाट १ सय ९, मनाङबाट १४, मुस्ताङबाट १६, गोरखाबाट ५३, तनहुँबाट ८२, लमजुङबाट ६५, म्याग्दीबाट ४२, बागलुङबाट ७२ र जनसंगठनबाट ८६ प्रतिनिधिले सहभागीता जनाउनेछन् । अधिवेशनको लागि छनोट भएका प्रतिनिधि गुटमा विभाजित हुन थालेका छन् । राम्रोसँग गुटमा नखुलेकालाई आफ्नो पक्षमा पार्न भित्रभित्रै विभिन्न गितिविधि मार्फत जोडबल भइरहेको समेत स्रोतको दावी छ ।
प्यानल बनाएर निर्वाचन लड्न नपाइने यदी त्यस्तो भए कारवाही गरिने दावी एमाले सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण बिष्टले गरिरहेपनि माहोल प्यानलतर्फनै उन्मुख भैरहेको देखिन्छ । नेताहरुले परिस्थितिको यथार्थ मुल्याकंन गर्न सकेभने सहमतीको सम्भावना अझै बाँकी रहेको समेत स्रोतको दावी छ ।

















