राजाराम पौडेल, पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकीको पाँचौ साधारण सभा सम्पन्न भएको छ । प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान संरक्षक प्राज्ञ प्रजापति पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पराजुलीले प्रतिष्ठान स्थापना गर्दादेखि हालसम्म भए गरेका विभिन्न उतारचढावको बारेमा बेलिविस्तार लगाए । लोक दोहोरीको क्षेत्रमा केही महत्वपूर्ण कामहरुको थालनी आफ्नो प्रयासमा भएको दावी गरेका उनले संस्थामा आवद्ध नयाँ कलाकारलाई यो क्षेत्रमा अगाडि बढ्नको लागि गर्नुपर्ने मेहनत र अपनाउनुपर्ने सावधानीको बारेमा प्रष्ट पारें ।
प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजालले संस्थागत तरिकाले प्रतिष्ठानलाई अगाडि बढाउने प्रयास वर्तमान कार्यसमितिले गरिरहेको खुलाए । यो क्षेत्रमा देखिएका विकृति विसंगतीलाई न्युनिकरण गर्न संस्थागत क्रियाशिलता बढिरहेकोे उनले सुनाए । संस्थाले अब तुरुन्तै अर्काको ट्रयाकमा गीत गाउने परिपाटीलाई अन्त्य गर्ने अभियान सञ्चालन गर्ने उनले जनाए ।
अर्को प्रसंगमा सचिव रिजालले केन्द्र र प्रदेशका साथीहरुलाई जिल्लामा आउँदा संस्थागत पैसाले खाजा खानामा खर्च नगर्न निर्देशन समेत दिए ।
‘व्यक्तिगत चाकडी चाप्लुसीले नजिक हुन्छु, कसैलाई आफ्नो बनाउछु, अनि मेरो बारेमा बोल्देला भन्ने छ भने मसँग त्यो आशा नराख्नुहोला, तर संस्थागत अप्ठ्यारोमा आवाज उठाउन भने कहिल्यै छोड्ने छैन’ उनले भने ।
अर्का सचिव शंकर विरही गुरुङ प्रतिष्ठानले शुद्धीकरण अभियान चलाउन लागेको बताए । संस्थामा लोक दोहोरी क्षेत्रमा क्रियाशिल नभएका व्यक्तिहरु समेतको आवद्धता भएको भन्दै विशुद्ध लोक दोहोरी कलाकार मात्र रहुन् भन्ने उद्धेश्यले यो अभियान चलाउन खोजिएको उनको भनाई थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकीका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सचिव जीवन दाहाल, केन्द्रीय सल्लाहकार शान्ती गुरुङ, केन्द्रीय सचिवालय सदस्य सुरेन्द्र गुरुङ, गण्डकीका संरक्षक याम गुरुङ, नवलपुर जिल्ला अध्यक्ष बुद्धिनाथ घिमिरे, गण्डकीका वरिष्ठ उपाध्यक्ष माया गुरुङ, सचिव राम्जी पौडेलले बोलेका थिए । साधारण सभामा पूर्णिमा कलाकेन्द्रको प्रस्तुतीमा स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।
सोही कार्यक्रममा नरबहादुर स्मृति कलाकारिता पुरस्कार २०८० गायिका सरस्वती परियार र तिर्थसागर स्मृति पत्रकारिता पुरस्कार २०८० पत्रकार कमल पौडेल अथकलाई अर्पण गरियो । आ–आफ्नो ठाउँबाट लोक दोहोरीको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई नगद सहित पुरस्कार अर्पण गरिएको हो । पुरस्कार ग्रहण गरे पश्चात बोल्दै लोक दोहोरी कलाकार समेत रहेका पत्रकार अथकले कलाकारको रुपमा आफूले भोगेका तिता मिठा अनुभव सुनाए । पुरस्कार प्राप्त गरे पश्चात लोक दोहोरी क्षेत्रको बारेमा आवाज उठाउन थप उर्जा थपेको उनले खुलाए । विगत २५ वर्षदेखि पोखरामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल अथक हाल रेडियो सराङकोटमा कार्यरत छन् ।
साधारण सभाको बन्दसत्रमा सचिव राम्जी पौडेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । यसैगरी कार्य मुल्याकंनको आधारमा सचिवालय सदस्य टेक क्षेत्री र सविना गुरुङलाई सम्मान गरियो । यसपालीको साधारण सभामा वर्ष उत्कृष्ट जिल्ला शाखामा पर्वत, नवलपुर, म्याग्दी घोषित हुन सफल भएको प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्कीले बताए ।
दैशभर २३ हजारको हाराहारीका साधारण सदस्य रहेको प्रतिष्ठान नेपालको गण्डकी प्रदेशका ९ जिल्लामा शाखा रहेको छ । मनाङ र मुस्ताङमा भने शाखा पुग्न सकेको छैन । यहाँ रहेका बाँकी नौवटै जिल्लामा केन्द्रले तोकेको मिति भित्रै साधारण सम्पन्न भएको छ ।
जस अनुसार साउन २७ गते कास्की, भदौ २ गते बागलुङ, भदौ ९ गते तनहुँ र गोरखा, २० गते पर्वत, २३ गते म्याग्दी र नवलपुर तथा असोज ६ गते स्याङजा र लमजुङमा साधारण सभा सम्पन्न भएको प्रतिष्ठान गण्डकीले जनाएको छ ।



















