व्याण्ड कम्पिटिसन नयाँ प्रतिभाको लागि अवसर हो: प्रमुख आचार्य

व्याण्ड कम्पिटिसन नयाँ प्रतिभाको लागि अवसर हो: प्रमुख आचार्य

राजाराम पौडेल, पोखरा । पोखराको सांगीतिक क्षेत्रलाई थप उचाईमा पुर्‍याउन नयाँ पुस्तालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आग्रह गरेका छन् । पोखरा सांगीतिक कलाकार संघ नेपालले पहिलोपटक आयोजना गरेको ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा पुगरे आफ्नो भनाई राख्दै उनले यस्तो आग्रह गरेका हुन् ।

अहिलेको जस्तो अवसर विगतमा नहुँदा पनि यहाँका कलाकारले पोखराको उपस्थिति सांगीतिक क्षेत्रमा मजबुत बनाएको भन्दै अब त्यो साख बचाउने जिम्मा नयाँ पुस्ताको काँधमा आएको बताए ।

‘विगतमा यो खालको प्रविधि, यस्तो अवसर थिएन, तरपनि कडा मेहनत र लगावका कारण अघिल्लो पुस्ताले पोखराको सांगीतिक फाँटको सुन्दर इतिहास कोर्दै आज यहाँसम्म ल्याएको छ, अहिले तपाई नयाँ पुस्ता साधन स्रोतका बिचमा हुनुहुन्छ अवसर हरुपनि आइरहेका छन् अब यसलाई अगाडि बढाउन तपाई कलाकार भाइबहिनीहरुले मेहनत गर्नुपर्छ’ प्रमुख आचार्यले भने ।

पोखराका कलाकारले नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका उनले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड समेत दिए । नयाँ प्रतिभालाई बाहिर ल्याएर अगाडि बढ्न उत्पेरित गर्ने हेतुलेनै पोखरा महानगरपालिकाले प्रतियोगिताको प्रर्वद्धक बनेर सघाएको उनले खुलाए ।

‘कुनै समय टाढा–टाढाबाट देखेका वा टेलिभिजन मार्फत हेरेका पोखराका स्थापित संगीतकर्मीलाई भेट्ने, उनीहरुका अनुभव सुन्ने र उनीहरुको सर्पोटमा अगाडि बढ्ने अवसर पाउने यो सुन्दर प्लाटफर्म ले गीत संगीतको थुप्रै विधा मध्यको पप विधालाई अगाडि बढाउन पुलको काम गर्ने मेरो विश्वास छ’ आचार्यल थपे ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले यस्ता प्रतियोगिताले नयाँ पुस्तामा उर्जा थप्ने बताए । विगतमा व्याण्डको शहरको रुपमा परिचय बनाएको पोखरामा आयोजित यस्ता कार्यक्रमका कारण पुनः पोखराको सांगीतिक माहोल पुरानै अवस्थामा फर्कन आशा उनले गरें । पोखरासँगै समग्र गण्डकी प्रदेशको पप संगीतलाई अगाडि बढाउन गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने प्रतिवद्धता उनको थियो । सबै मिलेर पोखराको विगतको संगीतको क्षेत्रको चार्म फर्काउनु पर्नेमा उनको जोड थियो । पुराना स्थापित व्याण्डका कलाकारलाई भेट्ने अवसरले नयाँ पुस्तामा नयाँ उत्साह थपिने उनको विश्वास थियो ।

दुई दिनसम्म पोखराको नयाँबजारमा आयोजित प्रतियोगिताको उपाधि पोखरा लिङ्कन कलेजले चुम्न सफल बन्यो । प्रतियोगिताको फाइनलमा पुगेका कुल ११ टीम मध्ये अब्बल बन्दै पोखरा लिङ्कन कलेजको ‘द लिङ्कन व्याण्ड’ले उपाधि चुमेको हो । उपाधि सँगै नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र उसको पोल्टामा पर्‍यो ।

संघले पहिलोपटक आयोजना गरेको प्रतियोगिताको निर्णायक संयोजकमा संघका निवर्तमान अध्यक्ष सुनिल थापा रहेका थिए । यसैगरी श्यामशुङ तामाङ, किरण बैद्य, विनोद वानियाँ र अमित गुरुङले सदस्यको रुपमा निर्णायकको जिम्मेवारी पुरा गरें ।

ईन्फोमेटिक्स कलेजको ‘द ईन्टरभल्स व्याण्ड’ ले फस्ट रर्नसअप हुँदै नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र हात पार्दा सेकेन्ड रर्नसअप बनेको ग्लोवल कलेजिटको ‘उत्वेग व्याण्ड’ले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र आफ्नो पक्षमा पार्‍यो ।

सवटाइटलतर्फ उत्कृष्ट भोकलमा पोखरा लिङ्कन कलेजका रोमित गुरुङ, लिड गितारमा कालिका माविका अनमोल थापा, रिदम गितारमा ईन्फोमेटिक्स कलेजका सन्दीप आले मगर, बेस गितारमा ग्लोवल कलेजियटका अनुपम रिजाल र ड्रमरमा पोखरा लिङ्कन कलेजका विनोद सुनारले बाजी मारे । विधागततर्फका बिजेताले नगद ५–५ हजार र प्रमाणपत्र हात पारेका थिए ।

उनीहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उप–कुलपति गोरे गुरुङ, पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ भाइ, निवर्तमान अध्यक्ष सुनिल थापा, संस्थापक अध्यक्ष श्यामसुङ गुरुङ, प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, संस्थाका सल्लाहकार तीर्थ तामाङ र शेरबहादुर गुरुङ, उपाध्यक्ष टोपबहादुर खत्री, सचिव भाष्करध्वज श्रेष्ठ, सह–सचिव विनोद वानियाँलगायतले पुरस्कार प्रदान गरें ।

फाइनलमा पुगेका अन्य टीममा मदरल्याण्ड मावि, प्रतिभा मावि ‘सी’, सगरमाथा मावि, कुमुदिनी होम्स, लाभेन्ज रेसिडेन्सियल बोर्डिङ स्कुल, पोखरा एकेडेमी, प्रगती बोर्डिङ स्कुल र कालिका मावि रहेका थिए । प्रतियोगीतामा कुल २२ टीमले सहभागी जनाएकोमा ११ टीम अन्तिम प्रतिष्पर्धाको भिडेको निर्णायक मध्येका एक विनोद वानियाँले नेपाल अहिलेलाई बताए ।

सोही कार्यक्रममा पोखराको पहिलो र्‍याप व्याण्ड डिमर्चा र अर्को चर्चित पुरानो व्याण्ड देउरालीले विशेष प्रस्तुती मार्फत संगीतप्रेमीको ध्यान खिच्यो । यस अगाडि आयोजकले लेकाली व्याण्डको समेत प्रस्तुती रहने भनेपनि उक्त व्याण्डको प्रस्तुती भने दर्शकले हेर्न पाएनन् । हावाहुरी सहितको वर्षाको कारण केही समय प्रतियोगिता प्रभावित बनेको थियो ।

२०६२ सालमा स्थापना भएको संस्थामा हाल पोखराका ३८ जना संगीतकर्मी सदस्य छन् । सांगीतिक माहोलमा उत्साह थप्न गण्डकी प्रज्ञा प्रतिष्ठानसँग मिलेर पुराना व्याण्डको एउटा बृहत कार्यक्रम गर्ने योजना समेत संस्थाले बनाएको अध्यक्ष हर्कराज गुरुङ भाइले जनाए ।

पचासको दशकमा पप व्याण्डको राजधानी शहरको परिचय बनाएको पोखरालाई ६० को दशक पछाडि पुरानै अवस्थामा फर्काउन यहाँका कलाकारले बेला–बेलामा प्रयास गरेको भएपनि त्यो प्रर्याप्त नहुँदा सफल बन्न भने सकेको छैन ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्