नारीको विद्रोहात्मक चेतमा आधारित ‘मसान’ असोज १२ गते मञ्चन हुने

नारीको विद्रोहात्मक चेतमा आधारित ‘मसान’ असोज १२ गते मञ्चन हुने

राजाराम पौडेल, पोखरा । नाटककार गोपाल प्रसाद रिमालले लेखेको नारीवादी नाटक ‘मसान’ पोखरामा मञ्चन हुने भएको छ । पोखरामा आयोजित विद्यालय नाटक महोत्सवको समापनको दिनमा याे नाटक मञ्चन हुन लागेको हो ।

नाटकमा नारीको विद्रोहात्मक चेतलाई प्रस्तुत गरिएको छ । नाटककी मुख्य चरित्र हेलेन (युवती) को विवाह कृष्णसँग हुन्छ । कृष्ण सम्पन्न परिवारको मान्छे हो । विदेशी संस्कृतिबाट प्रभावित ऊ नारीलाई आफ्नो वासना पूर्तिको साधन मात्र सम्झन्छ । थाहै नपाई हेलेनलाई गर्भ नरहने औषधी खुवाउँछ । जसका कारण हेलेन बच्चा जन्माउन असमर्थ रहन्छे । आफ्नो भरोसा ठानेका मान्छेले नै मातृ वात्सल्यबाट बञ्चित गराएको थाह पाएपछि हेलेनले कृष्णको घरलाई मसानको संज्ञा दिएर त्याग गर्छे र नाटकको समापन हुन्छ ।

‘मसान’ कास्की मोडनाइज्ड एकेडेमी, चाउथे पोखराको प्रस्तुतीमा मञ्चन हुन लागेको हो । नाटकको निर्देशक अञ्जु दाहालले गर्दैछन् । उनको निर्देशनमा तयार हुने तेस्रो नाटक हो । यस अगाडि दाहालले निर्देशन गरेका दुई नाटक पोखरामा मञ्चन भैसकेका छन् ।

यस नाटकको बारेमा निर्देशक अञ्जु यसो भन्छिन्–‘यो नाटक बाल विषयमा केन्द्रित नाटक त होइन । तर मलाई के लाग्छ भने बालबालिका भन्ने बित्तिकै सँधै बाल नाटक नै गर्नुपर्छ भन्ने छैन । मसानकी हेलेन आज पनि हाम्रो समाजमा बाँचीरहेकी छ । पुरुष सत्ताले हेलेनहरू जन्माईरहेको छ । भर्खर हुर्किरहेका किशोरीहरू हेलेन बन्न नपरोस् । यही उदेश्यले यो नाटक निर्देशन गरेकी हुँ ।’ विद्यार्थीको उत्साह तथा मेहनतका कारण नाटक सुन्दर बनेको उनको दावी छ ।

कास्की मोडनाइज्ड एकेडेमीका प्रधानाध्यापक राम बहादुर मोचीले आफ्नो विद्यालयमा विगतदेखिनै नाटकको कक्षा सञ्चालन भैरहेको बताए । नाटक मार्फत विद्यार्थीहरुको अभिनय क्षमताको विकास मात्र नभएर उनीहरुलाई थप सिर्जनशील र कल्पनशील बनाउने विश्वास विद्यालयले लिएको उनको भनाई छ । नाटक महोत्सवमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो विद्यालयको प्रस्तुतीमा तयार भएको नाटकले नाटकप्रेमीको माया बटुल्न सफल हुने विश्वास व्यक्त गरें ।

नाटकमा आइशा संग्रोला, समिप के.सी., श्रेया अधिकारी, बेबिना राई, सुप्रिम श्रेष्ठ, भिमाम्सा तामाङ्ग, निश्चल थापा, सम्यल कार्की, कृष्ण गुरुङ, हृदय गुरुङ, सजल गुरुङ, रेनुका गुरुङ, गरिमा पुन, रितिका भुसाल, विनिसा क्षेत्री, मृनल गुरुङ, सखि गुरुङ, अनुस्का गुरुङ, गृष्मा अधिकारी र कृपा सापकोटाको अभिनय हेर्न पाइन्छ । नाटकको पोष्टर स्केच केशर गुरुङले तयार पारेका छन् ।

पोखरा थिएटरले आयोजना गरेको पाँचौं संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८०’ मा मञ्चन हुने लागेको यो नाटक असोज १२ गते दिउँसो साढे १ बजे गन्धर्व नाटकघरमा हेर्न पाइनेछ ।

‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । थिएटरले २०७६ मा पहिलोपटक महानगरपालिका स्तरिय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव आयोजना गर्‍यो । लगातार तीन वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गरेको हो ।

यो महोत्सवमा पोखराका १४ विद्यालयका नाटक र अतिथि नाटकको रुपमा काठमाडौंबाट थप एक नाटक गरेर कुल १५ नाटक मञ्चन हुने आयोजकले बताए । ती नाटकमा शिलान्यास, भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाच्नेहरू, खेल्ने बेला खेल्छौं, पढ्ने बेलामा पढ्छौं, कीर्तिपुरको युद्धमा, मुना मदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँ जस्ती गोरी, कर्मको फल, यती, बिर्सन नसकिने मान्छे र मसान रहेका छन् । यि मध्ये धेरैं नाटक मञ्चन भैसके । केही मञ्चन हुने क्रममा रहेका छन् ।

महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्ड्रेनले सहकार्य गरेका छन् । महोत्सवको प्रवद्र्धकको रुपमा पोखरा महानगरपालिका कार्यालय रहेको छ ।

महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताको लागि १ हजार रुपैयाँ तिरेर सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए । भदौ २७ गतेबाट सूरु भएको महोत्सव असोज १२ गतेसम्म सञ्चालन हुनेछ । मञ्चन भएका हरेक नाटकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले खुलाए । महोत्सवको छेको पारेर ‘नाटकलाई विद्यालयहरुले कसरी प्रयोग गर्ने’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भैसकेकाे छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्