राजाराम पौडेल, पोखरा । गुरुङ फिल्म एशोशिएशन नेपाल जिफानले रोधी डिजिटल प्रालिलाई ६ महिनासम्म गुरुङ चलचित्र सम्बन्धि कुनै गतिविधि गर्न नपाउने गरी रोक लगाएपछि रोधी डिजिटल प्रालिले जिफानको संस्थागत सदस्यता त्यागेको छ । प्रालिका सञ्चालक तथा चलचित्र निर्देशक प्रितम गुरुङले सामाजिक सञ्जालमा स्टाटस लेखेर संस्थागत सदस्यता त्याग गरेको घोषणा गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन् –’म गुरुङ फिल्मको जन्मदाता- प्रितम गुरुङ (पाते २०५२)। गुरुङ फिल्म शुरुवातको १३ बर्षपछी हामीले हाम्रो हक हितको लागि हाम्रो सस्था खोलेम । जिफान(२०६५)। मेरो कम्पनी रोधी डिजिटल प्रा लि आजबाट जिफानको संस्थागत सदस्य नरहेको जनाउदछु (८ अशोज २०८०)। धन्यवाद ।’
स्टाटससँगै उनले जिफानले रोधी डिजिटल प्रालिले ६ महिनासम्म गुरुङ चलचित्र सम्बन्धि कुनै गतिविधि गर्न नपाउने गरी रोक लगाएको जानकारी पत्र समेत सम्लग्न राखेका छन् । जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङ र महासचिव तोल बहादुर गुरुङ लब्सनको हस्ताक्षर सहितको यहीं असोज ५ गतेको मितिको जानकारी पत्रमा चलचित्र ‘रिपा’ प्रदर्शनको क्रममा जिफानको नियमावली एवम विधान विपरीत चलचित्र प्रदर्शन गरेको उल्लेख गरिएको छ ।
‘विगतमा पनि यसैगरि नियमावली एवम विधान विपरीत चलचित्र प्रदर्शन गरेको नजिर भेटिएकाले जिफानको वैधानिक बैठकले स्थापित नजिरका आधारमा तपाई चलचित्र निर्देशक प्रितम गुरुङलाई संस्थागत निर्णय बमोजिम यस पत्र पठाइएको मिति (२०८० असोज ५ गते शुक्रवार) देखि ६ महिनासम्म सो चलचित्र निर्माण भएको कम्पनी (रोधी डिजिटल प्रा.लि) ले गुरुङ चलचित्र सम्बन्धि कुनै पनि गतिविधि गर्न गराउन प्रतिबन्द लगाइएको व्यहोरा सहित यो निर्णय टिपोट गरि पठाइएको छ । संस्थाको नियम र विधान सबैका लागि बराबर हुने प्राकृतिक संहितालाई स्वीकार गरि संस्थाको हित विपरित कार्य नगर्नु हुन समेत जानकारी गरिन्छ । साथै आउँदा दिनहरुमा संस्थाको विधान र नियमावलीलाइ पूर्ण रुपमा पालन गर्नु हुने छ भन्ने अपेक्षा गरेका छौं ।’ जानकारी पत्रमा लेखिएको छ ।
नेपाल अहिलेसँग कुरा गर्दै निर्देशक प्रितम गुरुङले संस्थामा व्यक्त्ति हावी हुँदा संस्थागत सदस्यता त्यागेको निर्णय गर्ने अवस्था आएको बताए ।
















