काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेतृत्वको दृढ संकल्पको अभावका कारण देश विकास हुन नसकेको टिप्पणी गरेका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा सत्ता केन्द्रित सोचका कारण देश विकास हुन नसकेको तर्क गरे ।
सत्तामा जाने र आफ्नो लाभको लागि त्यसको प्रयोग गर्ने भावना माथिल्लो तहदेखि तलसम्म नै भएको उनको भनाई छ ।
उनले केन्द्रीय, प्रादेशिक, स्थानिय निकाय र विभिन्न संस्थाहरुमा आवद्ध सबै संस्थामा यस्तो प्रवृत्ति बढ्दै गएको भन्दै एउटा राष्ट्रिय र देशभक्तिको दृष्टिकोण, भावना र संकल्पको अभाव देशमा भएको बताए ।
उनले भने, ‘अहिले हाम्रो यो सबै समस्याको कारण के हो, मेरो विचारमा देश हाक्ने, देश चलाउने संकल्पको अभाव छ । देश बनाउ भन्ने भावना जति मात्रामा हुनुपर्ने थियो त्यसको अभाव छ, कसै गरी सत्तामा पुगौं, सत्तामा आफ्नो पकड बनाउ र आफ्नो लाभको लागि त्यसको प्रयोग गरौं भन्ने भावना व्याप्त छ यसको असर हामी माथि मात्रै होईन्, तलसम्म देखिन्छ ।’
यस्तै, उनले राजनीतिक पार्टी, नेताहरुले आफूमा रहेका कमि कमजोरीलाई मनन गर्दै समस्या समाधान गर्न गम्भीर हुनु पर्ने पनि बताए ।
उनले भने, ‘राजनीतिक पार्टी, नेताहरुले आफूमा रहेका कमि कमजोरीलाई मनन गर्नुपर्छ । समस्या समाधान गर्न गम्भीर छौ कि छैन् भनेर आफैसँग प्रश्न गर्नुपर्छ । हाम्रा कमजोरीहरुलाई महशुस गर्नुपर्छ त्यसो गर्दा हामी कमजोर होईन्, सबल हुन्छौ। हामी साच्चि नै गम्भीर भएर लाग्ने हो भने नेपालको समस्याको समाधान निकाल्न सकिन्छ । यो देशमा जुन प्रकारको संकटका बादलहरु छन् त्यसप्रति हामी गम्भीर भएर लाग्नु पर्छ । ’
कम्युनिष्ट पार्टीहरुले मात्रै समस्याको गहिराईमा गई समस्या समाधान गर्न मेहेनत गर्न सक्ने भन्दै कम्युनिष्ट पार्टीले मात्रै वैज्ञानिक समाधानको उपायको खोज्न सक्ने उनको भनाई छ ।
नेपालको शिक्षा प्रणालीलाई लिएर आज शिक्षकहरू आन्दोलित हुनुपर्ने अवस्था आएको भन्दै सरकारको त्यसमा गम्भीर हुनुपर्ने समेत उनले बताए ।
उनले भने, ‘यसको लागि आजको लागि आवश्यक योग्य जनशक्ति तयार गर्नुपर्छ, आजको चुनौतीको सामना गर्ने योग्य र सक्षम जनशक्ति तयार गर्नुपर्छ । त्यसको लागि शिक्षा प्रणाली धेरै महत्वपूर्ण छ । आज शिक्षकहरू आन्दोलित छन् किनभने माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले पूरा गर्न सक्छ, के त्यसैले सबै पक्षबारेमा सोच्न सक्छ, विद्यालयको प्रगतिभन्दा पनि त्यसको प्रयोगको बारेमा मात्रै सोच्न सक्ने अवस्था बन्न सक्छ ।’
उनले अब सन् २०५० लाई आधार मानेर नयाँ भिजनसहितको दस्तावेज बनाउने, आर्थिक मन्दी, व्यापार घाटा, विभिन्न क्षेत्रले भोग्नुपर्ने समस्या समाधान बारेमा सोच्न आवश्यक भएको बताए ।
उनले भने, ‘अब नयाँ ढङ्गले सन् २०५० लाई आधार मानेर एउटा नयाँ भिजनसहितको दस्तावेज बनाउने कुरामा जुट्नु आवश्यकता छ । दोस्रो भनेको तत्कालका समस्या आर्थिक मन्दी, व्यापार घाटा, विभिन्न क्षेत्रले भोग्नु परेका समस्याको बारेमा अहिले नै हामीले उपायको लागि पनि व्यवस्थित रुपमा अगाडि बढाउनुपर्छ ।’















