केफ माविको प्रस्तुतीमा हास्यव्यङ्ग्य शैलीको नाटक ‘कर्मको फल’ तयार

केफ माविको प्रस्तुतीमा हास्यव्यङ्ग्य शैलीको नाटक ‘कर्मको फल’ तयार

राजाराम पौडेल, पोखरा । ‘कर्मको फल’ नाटक पोखरामा मञ्चन हुने भएको छ । केफ माध्यमिक विद्यालय सिम्पानी पोखराको प्रस्तुतीमा तयार भएको नाटक भानुभक्त पोखरेल ‘अविरल’ले लेखेका हुन् ।

नाटकमा मानिसले जस्तो कर्म गर्छ त्यसको परिणाम एक दिन भोग्नु नै पर्छ भन्ने सन्देश दिन खोजिएको छ । राम्रो कर्म गरेको भए राम्रो र नराम्रो कर्म गरेको भए नराम्रो फल मिल्छ भन्ने विषयवस्तुलाई रमाइलो शैलीमा नाटक मार्फत प्रस्तुत गरिएको छ । सबैजना सकारात्मक र राम्रो कर्मतर्फ लाग्नुपर्छ भन्ने यसको मुख्य सन्देश हो । नाटकमा यमलोकमा यमराजले कर्मअनुसारको फल निष्पक्ष रूपमा दिएको देखाइएको छ ।

यो नाटकमा हास्यव्यङ्ग्य शैली अपनाएर रोचक र सन्देशमूलक बनाउने प्रयास गरिएको लेखक अविरलले बताए । उनी सोही विद्यालयका नेपाली विभाग प्रमुख हुन् ।

लेखक अविरल भन्छन्–‘नेपालमा नातावाद, कृपावाद र भ्रष्टाचारका कारण राम्रा मान्छेले मरुन्जेल सत्कर्म गर्दा त्यसको उचित कदर नहुने अवस्था छ । नराम्रा काम गर्नेहरूलाई पहुँचको आधारमा कुनै कारबाही नै नभएको अवस्था समेत यहाँ छ । यस नाटकमा मृत्युवरण गरेका पात्रहरूलाई पौराणिक मिथक अनुसार यमराजले चित्रगुप्तको सहायताले वास्तविक दोषी र निर्दोष पहिचान गरी उनीहरूले गरेको कर्मअनुसारको फल दिने अर्थात् राम्रो गरे स्वर्गवास र कुकर्म गर्नेलाई नरकवासको सजाय तोकिदिने विषयको प्रसङ्ग रमाइलो शैलीमा राखिएको छ ।’

यस नाटकको निर्देशन रोहित पौडेलले गर्दैछन् । उनले नाटकले दर्शकलाई मनोरञ्जनसँगै सन्देश समेत प्रदान गरोस् भन्ने हेतुले तयार पारिएको बताए । ‘नाटकले मनोरन्जन प्रदान गरोस् भन्ने उद्देश्यले तयार पार्न खोजेको हुँ । बालबालिकाबाट खोजेको कुरा कहिले निस्किन्छ कहिले निस्किँदैन । महोत्सवमा आउने पहिलेदेखिको रहर यो पाला पूरा भयो, नाटकले सन्देश समेत बोकेको छ ।’ उनले भने । विद्यार्थीले आफूले पाएको जिम्मेवारीलाई पुरा गर्नको लागि गरेको मेहनतका कारण नाटक सुन्दर बनेको उनको भनाई छ ।

केफ माध्यमिक विद्यालयका प्रधानध्यापक डिल्लीराम अधिकारीले विद्यालय तहका विद्यार्थीहरूमा समेत नाटक सम्वन्धी अवधारणा विकास गरी आफूलाई परिपक्क बनाउन र समाज र देश चिन्न चिनाउन विद्यालय नाटक महोत्सवले मद्दत पुर्‍याउने बताए । विद्यालयका नेपाली विभाग प्रमुखद्वारा रचित यस नाटकले दर्शकको साथ पाउने विश्वास उनले गरें ।

नाटकमा इभान गुरुङ, सिशान रेग्मी, विश्वास भन्डारी, शीतल के.सी., निश्चल अधिकारी, निश्चल खनाल, बिशेश्ता श्रेष्ठ, सपना नेपाली, अञ्चल गुरुङ, कसम सापकोटा, प्रबेश भण्डारी, दिया आचार्य, सिम्रन बरुवाल, प्रकृति श्रेष्ठ, सविना गुरुङ, जेनिस पौडेल, अल्भिन पौडेल, उन्नती अधिकारी, दृष्टी अधिकारी, दिप्सन आचार्य र असिम अधिकारीको अभिनय हेर्न पाइनेछ । नाटकको पोष्टर स्केच एलोन तामाङले तयार पारेका छन् ।

पोखरा थिएटरले आयोजना गरेको पाँचौं संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव २०८०’ मा मञ्चन हुने लागेको यो नाटक असोज ९ गते दिउँसो साढे १ बजे गन्धर्व नाटकघरमा हेर्न पाइनेछ ।

‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । थिएटरले २०७६ मा पहिलोपटक महानगरपालिका स्तरिय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव आयोजना गर्‍यो । लगातार तीन वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गरेको हो ।

यो महोत्सवमा पोखराका १४ विद्यालयका नाटक र अतिथि नाटकको रुपमा काठमाडौंबाट थप एक नाटक गरेर कुल १५ नाटक मञ्चन हुने आयोजकले बताए । ती नाटकमा शिलान्यास, भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाच्नेहरू, खेल्ने बेला खेल्छौं, पढ्ने बेलामा पढ्छौं, कीर्तिपुरको युद्धमा, मुना मदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँ जस्ती गोरी, कर्मको फल, यती, बिर्सन नसकिने मान्छे र मसान रहेका छन् । यि मध्ये केही नाटक मञ्चन भैसके । केही मञ्चन हुने क्रममा रहेका छन् ।

महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्ड्रेनले सहकार्य गरेका छन् । महोत्सवको प्रवद्र्धकको रुपमा पोखरा महानगरपालिका कार्यालय रहेको छ ।

महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताको लागि १ हजार रुपैयाँ तिरेर सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए । भदौ २७ गतेबाट सूरु भएको महोत्सव असोज १२ गतेसम्म सञ्चालन हुनेछ । मञ्चन भएका हरेक नाटकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले खुलाए । महोत्सवको छेको पारेर ‘नाटकलाई विद्यालयहरुले कसरी प्रयोग गर्ने’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्