सनफ्लावरको प्रस्तुतीमा ‘हिउँजस्ती गोरी’ असोज ८ गते मञ्चन हुने

पोखरामा ‘भ-भ-भ-भ-भुत’ नाटक मञ्चन सम्पन्न, शुक्रबार ‘भोला’ को पालो

राजाराम पौडेल, पोखरा । पोखरा अर्चलबोटमा रहेको सनफ्लावर बोर्डिङ स्कुलको प्रस्तुतीमा ‘हिउँजस्ती गोरी’ नाटक मञ्चन हुने भएको छ । नाटक अङ्ग्रेजी कथा ‘स्नो ह्वाइट’ को नेपाली रूपान्तरणमा तयार गरिएको हो ।

एक राज्यमा रानीको कोखबाट सुन्दर कन्याको जन्म हुन्छ । रानी आफ्नो बच्चा जन्मेपछि स्वर्गवास हुन्छिन् । राज्यको काम अस्तव्यस्त हुन्छ । राज्यको माननीय व्यक्तित्वको सल्लाहमा राजाले अर्को विवाह गर्छन् । यसरी विवाह गरेर आएकी नयाँ रानीले आफ्नो सुन्दरताको घमण्ड गर्थिन् । नयाँ रानीसंँग एउटा जादुको ऐना हुन्छ । जसले सत्य बोल्छ । नयाँ रानी जहिल्यै त्यही जादुको ऐनासँग सोध्ने गर्थिन् को छ सबैभन्दा सुन्दर भनेर । जब स्नो ह्वाइट ठुली भइन्, जादुको ऐनाले रानीलाई स्नो ह्वाइट सुन्दर छ भन्यो । त्यसपछिको रानीको चाल र स्नो ह्वाइटको स्ट्रगललाई नाटकले दर्शाउँछ ।

पोखरा थिएटरले आयोजना गरेको पाँचौं संस्करणको विद्यालय नाटक महोत्सवमा छनोट हुन सफल यो नाटक असोज ८ गते हेर्न पाइनेछ । गन्धर्व नाटकघरमा दिउँसो साढे १ बजे मञ्चन हुने नाटकलाई दिलिप देवकोटाले निर्देशन गर्दैछन् । नाट्य रुपान्तरण गर्न र कलाकारलाई निखारता थप्न दिप्सना विश्वकर्माले सघाएकी छन् ।

निर्देशक देवकोटाले विषयवस्तु मन परेको कारण यो नाटक निर्देशन गर्न उत्साहित बनेको खुलाए । नाटक पढ्ने क्रममा कथाहरू पनि पढ्दै गर्दा बच्चा बेलादेखि सुनिआएको ‘स्नो ह्वाइट’को कथा नेपाली रूपान्तरण गरिएको रहेछ । मलाई एक काल्पनिक कथा गर्ने सोच थियो । वास्तविक कथाभन्दा भिन्न । त्यसकारण यो कथा रोजेँ । र, अर्काे महत्वपूर्ण कुरा यस कथाबाट दिन सक्ने सन्देश कसैको अघि आफ्नो तुलना गर्नु हुँदैन, स्वयंमा जे छ त्यसलाई स्विकार गर्नुपर्छ भन्ने विषयवस्तु भएकाले पनि सबै बालबालिकाले महोत्सवमा हेरेर केही बुझुन् भन्ने हो । उनले भने ।

विद्यालयका प्रधानाध्यापक ए.एम.गुरुङले आफ्नो विद्यालयमा कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरू यो नाटक मार्फत दर्शकमाझ प्रस्तुत हुन लागेको बताए । महोत्सवमा मञ्चन गरिने नाटकलाई विद्यार्थीहरुले गरिरहेको मेहनतका कारण दर्शकको माया पाउने विश्वास उनले गरें । नाटक छनोट भै मञ्चनको अवस्थासम्म आइपुग्दा विद्यालय परिवारसमेत उत्साहित बनेको उनको भनाई छ ।

नाटकमा सृजन सुनार, सफल परियार, संकल्प पराजुली, युनिश लामा, संगीत गिरी, सञ्जोग मगर, साहिल मगर, सुजन थापा मगर, एलिजा बराल, दिप्सा गिरी, प्रतीक्षा खत्री, अञ्जु सुनार, चेरिल पून, बबिता बि.क, प्रेमिसा खत्रीको अभिनय रहनेछ ।

यसैगरी स्नेहा नेपाली, तिर्सना पौडेल, मिरा परियार, रिज्मा तिमिल्सिना, अश्विन सुनार, सञ्जिव थापा, अनिशा खनाल, समष्टि पौडेल, विजय वि.क., संमृद्वि सेन, मोनिका बानिया, युजिना परियार, प्रनिशा ढकाल, ईशा खत्री र युनिक थापा समेतले नाटकमा अभिनय गर्नेछन् । निखारता थप्न उनीहरुले रिहर्सल मार्फत मेहनत गरिरहेका छन् ।

‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । थिएटरले २०७६ मा पहिलोपटक महानगरपालिका स्तरिय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव आयोजना गर्‍यो । लगातार तीन वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गरेको हो ।

यो महोत्सवमा पोखराका १४ विद्यालयका नाटक र अतिथि नाटकको रुपमा काठमाडौंबाट थप एक नाटक गरेर कुल १५ नाटक मञ्चन हुने आयोजकले बताए । ती नाटकमा शिलान्यास, भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाच्नेहरू, खेल्ने बेला खेल्छौं, पढ्ने बेलामा पढ्छौं, कीर्तिपुरको युद्धमा, मुना मदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँ जस्ती गोरी, कर्मको फल, यती, बिर्सन नसकिने मान्छे र मसान रहेका छन् । यि मध्ये केही नाटक मञ्चन भैसके । केही मञ्चन हुने क्रममा रहेका छन् ।

महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्ड्रेनले सहकार्य गरेका छन् । महोत्सवको प्रवद्र्धकको रुपमा पोखरा महानगरपालिका कार्यालय रहेको छ ।

महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताको लागि १ हजार रुपैयाँ तिरेर सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए । भदौ २७ गतेबाट सूरु भएको महोत्सव असोज १२ गतेसम्म सञ्चालन हुनेछ । मञ्चन भएका हरेक नाटकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले खुलाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्