राजाराम पौडेल, पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नको लागि नाटकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । पोखरा थिएटरले आयोजना गरेको पाँचौ संस्करणको विद्यालय नाटक महोत्सव अवलोकन गर्न बुधबार गन्धर्व नाटकघर पुगेका उनले नाटक हेरिसकेपछि यस्तो बताएका हुन् ।
‘विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नको लागि नाटकको भूमिका महत्वपूर्ण हुन्छ, विद्यालय तहबाटै विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नको लागि महोत्सवको आयोजना गर्नु राम्रो कार्य हो यसले नयाँ प्रतिभालाई अगाडि आउन सघाउँछ’ उनले भने ।
देशको राष्ट्रियता र आफ्नोपना जोगाउनका लागि नाटक लगायतका विधाले काम गरिरहेको भएपनि पछिल्लो समयमा रंगमञ्च अपेक्षाकृत अगाडि आउन नसकेको उनले बताए । यसरी पछाडि परेको रंगमञ्चलाई अगाडि बढाउन पोखरामा पछिल्लो समयमा भइरहेका नाट्य गतिविधिले सघाइरहेको उनको भनाई थियो ।
‘हरेक देशको आफ्नोपन जोगाउनको लागि त्यहाँ भित्रको भाषा, साहित्य, संस्कृति र कलाको अत्यन्तै महत्वपूर्ण भुमिका हुन्छ, त्यसको एउटा विधा नाटक हो । पछिल्लो समयमा रंगमञ्च पछाडि परेको हो की भन्ने देखिन्छ । यो कुराको अभावलाई पुरा गर्न पोखरा थिएटरले गरेको प्रयास सह्रानिय छ’ उनले भने ।
पोखरा आफैमा नाटकको उद्गम स्थल भएको भन्दै प्रमख आचार्यले डाँफे कला मन्दिरदेखि अहिलेसम्म आउँदा पोखरामा थुप्रै श्रष्टाले नाट्यक्षेत्रलाई अगाडि बढाउदै आएको बताए । सरुभक्त, अनुप बराल लगायतका श्रष्टा पोखराबाटै अगाडि बढेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा स्थापित हुनु पोखराको लागि गर्वको विषय भएको उनले सुनाए ।
महोत्सवको छैटौं दिन काठमाण्डौं प्रज्ञा कुञ्ज स्कुलको प्रस्तुतीमा तयार भएको ‘खेल्ने बेलामा खेल्छौं, पढ्ने बेलामा पढ्छौं’ नाटक मञ्चन भएको थियो । यो नाटक टंक चौलागाईको लेखन तथा निर्देशनमा तयार भएको होे । नाटक अतिथि नाटकको रुपमा महोत्सवमा सहभागी गराइएको थियो ।
नाटकमा अरनभ कार्की, अग्रिम पण्डित, प्रसित भट्टराई, शुभम बर्तौला, सुबिश प्याकुरेल, माहि ओझा, कशिभ कार्की, पृथुल कलाखेती, श्रेयमास केसी, नेलिसा ओझा, सिया भट्टराई, सान्भि बुढाथोकी, ग्रिश्मा भण्डारी, प्रदिप्ति नेपाल र साम्रागी आयरको अभिनय रहेको थियो ।
नाटकको कथा यस्तो थियो –‘शनिबारको दिन टोलभरिका केटाकेटीहरू आएर खेल्ने ठाउँ छ, त्यो जुँगेदाइको कोठा हो । उनका छोराछोरी पनि उस्तै छन्, खेल्न भनेपछि हुरुक्कै । नाटकको प्रप्स, ड्रेस बनाउने जुँगेदाइ रमाइला छन् । घरबेटीको डर हुन्थेन भने केटाकेटीलाई कहिल्यै गाली गर्दैनथे । घरबेटी कडा छन् । यो नाटक शनिबार केही घन्टाको कथा थियो । केही क्षण खेलेपछि केटाकेटीहरू पढ्न जान्छन् ।’
आफ्नो भुमिका प्रभावकारी बनाउदै उनीहरुले अभिनय कौशलता प्रदर्शन गरें । जुन दर्शकको लागि रुचिकर बन्यो ।
‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । थिएटरले २०७६ मा पहिलोपटक महानगरपालिका स्तरिय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव आयोजना गर्यो । लगातार तीन वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गरेको हो ।
यो महोत्सवमा पोखराका १४ विद्यालयका नाटक र अतिथि नाटकको रुपमा काठमाडौंबाट थप एक नाटक गरेर कुल १५ नाटक मञ्चन हुने आयोजकले बताए । महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्ड्रेनले सहकार्य गरेका छन् ।
महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताको लागि १ हजार रुपैयाँ तिरेर सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए । भदौ २७ गतेबाट सूरु भएको महोत्सव असोज १२ गतेसम्म सञ्चालन हुनेछ । मञ्चन भएका हरेक नाटकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाए ।
















