भानुभक्त आवासीय माविको प्रस्तुतीमा ‘अँध्यारामा बाँच्नेहरु’ मञ्चन सम्पन्न

भानुभक्त आवासीय माविको प्रस्तुतीमा ‘अँध्यारामा बाँच्नेहरु’ मञ्चन सम्पन्न

राजाराम पौडेल, पोखरा । ‘अँध्यारामा बाँच्नेहरु’ नाटक गन्धर्व नाटकघरमा मञ्चन भएको छ । पोखरामा आयोजित विद्यालय नाटक महोत्सवमा मञ्चन गरिएको यो नाटक भानुभक्त आवासीय माध्यमिक विद्यालय, सिम्पानी पोखराको प्रस्तुतीमा मञ्चन भएको हो।

ठुलाबडाले भनसुन गरि ठुला अपराधमा पनि छुट्ने तर चोरीको अभियोगमा थुनिएका कालुसिंह जस्ता निम्नवर्गीय पात्र भने पुलिसको निर्मम यातना र उत्पीडन खप्न बाध्य हुने देशको बेथितिलाई देखाइएको थियो । मनबहादुर मुखियाले लेखेको नाट्य रचनाको निर्देशन मनोज अधिकारीले गरें ।

नाटकमा रायन गुरुङ्ग, युनिक गुरुङ्ग, विशेष शर्मा, प्रयास गुरुङ्ग, अक्सा तमाङ्ग, सेज्मा पुन, एरोन बाँस्तोला, सुजल तामङ्ग, नुसिस छन्त्याल, सुदिक्षा श्रीपाली, श्रीधर बाँस्तोला र क्रिमिना पुनले अभिनय गरें । नाटकलाई सुन्दर बनाउन उनीहरुले निकै मेहनत गरेका थिए ।

महोत्सवमा भानुभक्त आवासिय माविको पाँचौ सहभागिता रहेको थियो । यस विद्यालयले यसअगाडि सम्पन्न भएका चारवटै संस्करणको नाटक महोत्सवमा सहभागीता जनाएको थियो । जस अनुसार २०७६ मा डाँडाखेत, २०७७ मा न्यायको खोजी, २०७८ मा शान्तिको अशान्ती र २०७९ मा समय पीडा नाटक मञ्चन भएका थिए ।

‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । थिएटरले २०७६ मा पहिलोपटक महानगरपालिका स्तरिय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव आयोजना गर्‍यो । लगातार तीन वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गरेको हो ।

यो महोत्सवमा पोखराका १४ विद्यालयका नाटक र अतिथि नाटकको रुपमा काठमाडौंबाट थप एक नाटक गरेर कुल १५ नाटक मञ्चन हुने आयोजकले बताए । ती नाटकमा शिलान्यास, भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाच्नेहरू, खेल्ने बेला खेल्छौं, पढ्ने बेलामा पढ्छौं, कीर्तिपुरको युद्धमा, मुना मदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँ जस्ती गोरी, कर्मको फल, यती, बिर्सन नसकिने मान्छे र मसान रहेका छन् । यि मध्ये केही नाटक मञ्चन भैसके । केही मञ्चन हुने क्रममा रहेका छन् ।

महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्ड्रेनले सहकार्य गरेका छन् । महोत्सवको प्रवद्र्धकको रुपमा पोखरा महानगरपालिका कार्यालय रहेको छ ।

महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताको लागि १ हजार रुपैयाँ तिरेर सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए । भदौ २७ गतेबाट सूरु भएको महोत्सव असोज १२ गतेसम्म सञ्चालन हुनेछ । मञ्चन भएका हरेक नाटकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले खुलाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्