काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले, हतार गरेर संविधान संशोधन गर्नुपर्ने अवस्था नआएको बताएका छन् ।
मंगलबार संविधान दिवसको पूर्व सन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा ओलीले संविधान संशोधन गर्नुपर्ने आवाज उठिरहेकाबेला तत्काल हतार गरेर संविधान संशोधन गर्नु पर्दैन भनेका हुन् ।
हतारमा भन्दा केही समय लिएर एकै चोटि संशोधन गर्नु राम्रो हुने भन्दै उनले गम्भीर रुपमा छलफल गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले भने, ‘एउटा हिसावले संविधान संशोधन गर्ने बेला भएको छ कि छैन भन्ने कुरामा के लाग्छ भने अहिले पनि गम्भीरता भन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित र आयातित कुराहरुबाट प्रेसर गर्ने खालका प्रवृतिहरु देखिइरहेका हुनाले र अनेक प्रकारका बेठिक उद्देश्यहरु देखिएको हुनाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न चाँहि विर्सन हुदैन । त्यसकारण यसमा कुनै हतारो गर्नुपर्ने अवस्था आएको छैन ।’
दबाब र भावनामा बगेर भन्दा आवश्यकता र औचित्यलाई पुष्टि गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ । तर, संविधान संशोधन नै गर्न नहुने भन्नेमा आफूहरु नरहेको ओलीको भनाई छ ।
‘तत्कालिन आवश्यकतालाई हेरेर हामीले दुइचोटी एउटा एउटा विषयमा मात्रै संविधान संशोधन गर्यौं । अब संविधान संशोधन गर्दा हामीले अलि मेहनत गरेर तत्काल चाहिएको एउटा विषय मात्र होइन केही विषयहरु जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ ।’ उनले भने ।
सुवासचन्द्र नेम्वाङ निष्ठाको राजनीति गर्ने देशभक्त नेता
ओलीले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ देश र जनताप्रति असाधारण निष्ठा बोकेको देशभक्त र मनैदेखि सम्मान भावना उर्लिएर आउने एक नेता भएको बताएका छन् । प्रवचन कार्यक्रममा ओलीले सुवासलाई आत्मकेन्द्रीत नभएर देश र जनता र उनीहरुको भलाइलाई केन्द्रमा राखेर निष्ठाको राजनीति गर्ने देशभक्त नेताको रुपमा स्मरण गरे ।
ओलीले नेम्वाङको पाँच दशकभन्दा बढी सक्रिय राजनीतिबारे चर्चा गर्दै भने, ‘उहाँको निष्ठा र देशकेन्द्रीत, जनकेन्द्रीत र न्यायकेन्द्रीत राजनीतिबाट हामीले बढी सिक्नुपर्छ । उहाँ मिठो बोल्नुहुन्थ्यो त्यो राम्रो कुरा हो । मिठो बोल्ने मान्छे पनि बेइमान भैदियो भने ? तर, उहाँ बेइमान हुनुहुन्नथ्यो । मिठो बोल्ने भन्दा ठूलो कुराचाहिँ उहाँको देशप्रति असाधारण निष्ठा थियो । देशभक्त हुनुहुन्थ्यो उहाँ । कहिल्यै पनि असान्दर्भिक र स्वार्थी कदमहरु चाल्दै चाल्नभएन । त्यस्ता कदमबाट जहिल्यै अलग रहनुभयो । देशको हितमा उहाँ अडिग रहनुभयो ।’
ओलीले स्वर्गीय सुवासप्रति आफ्नो मनैबाट सम्मान र आदरभाव उर्लिएर आउने एक नेताको रुपमा स्मरण गरे ।
‘औपचारिक रुपमा मान्छेको सामान्यतया प्रशंसा गर्ने चलन हुन्छ । तर, सुवासचन्द्र नेम्वाङजी यस्तो व्यक्तित्व हो, जसलाई मनैदेखि प्रशंसा र आदरभाव पलाएर आउँछ, उर्लिएर आउँछ । उहाँप्रति सम्मान गरुँ भन्ने भाव उर्लिएर आउँछ । आधारभूत गुणहरुमा कहीँ खोट नभएको व्यक्ति हुनुहुन्थ्यो सुवास’ ओलीले भने ।















