काठमाडौं । भारत र क्यानडाबीचको सम्बन्धमा थप तनाव बढेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् ।
भारत सरकारले निज्जरको हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ । निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई ध्यानमा राख्दै क्यानडाले भारतका शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरेको छ ।
केही दिनअघि मात्र ट्रुडो जी–२० सम्मेलनमा सहभागी हुन भारत आएका थिए । यस भ्रमणका क्रममा ट्रुडोसँगको भेटमा प्रधानमन्त्री मोदीले क्यानडामा सिख पृथकतावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि आक्रमणको मुद्दा उठाएका थिए ।
ट्रुडो स्वदेश फर्केको केही समयपछि क्यानाडाका वाणिज्यमन्त्री मेरी एनजीका प्रवक्ताले भनेका थिए – क्यानडाले भारतसँगको द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा वार्ता रोकेको छ ।
भारतको विदेश मन्त्रालयले क्यानडाका प्रधानमन्त्रीको आरोपलाई अस्वीकार गरेको छ । क्यानडाका विदेशमन्त्री मेलानी जोलीले सोमबार भारतीय कूटनीतिज्ञ पवनकुमार राईलाई यस प्रकरणको अनुसन्धानका कारण निष्कासन गरिएको बताएकी छन् ।















