बालमन्दिर माविको प्रस्तुतीमा ‘पाठशाला’ तयार, असोज ६ गते मञ्चन हुने

बालमन्दिर माविको प्रस्तुतीमा ‘पाठशाला’ तयार, असोज ६ गते मञ्चन हुने

राजाराम पौडेल, पोखरा । पोखरा नदिपुरमा रहेको बालमन्दिर माविको प्रस्तुतीमा नाटक ‘पाठशाला’ तयार भएको छ । टंक चौलागाईले लेखेको नाटक पोखरामा आयोजित विद्यालय नाटक महोत्सवमा मञ्चन हुन लागेको हो । नाटक असोज ६ गते शनिबार दिउँसो साढे १ बजे मञ्चन हुने आयोजक पोखरा थिएटरका अध्यक्ष तथा महोत्सव संयोजक पविर्तनले जनाए । नाटकको निर्देशन सुसन पौडेलले गर्दैछन् ।

नाटकमा कुनै परिवारको आर्थिक सामाजिक स्थिति समान हुँदै गर्दा समेत उक्त परिवारको अग्रजले दिने संस्कारले नयाँ पुस्तामा विभिन्न प्रभाव पर्न जान्छ भन्ने कुरालाई दर्शाइएको छ । नाटकमा मुख्यतः दुई परिवार छन् एक असल सुबेदार सर्बेस्वरको परिवार । अर्को खराब लुमडी परिवार । उनीहरूले गरेको कुरा र दिएको संस्कारले नयाँ पुस्तामा परेको असर नाटकमा देखाइएको छ । आफूले अग्रजलाई गरेको व्यवहारले भोलि आफ्ना पुस्ताले पनि आफुलाई त्यस्तै व्यवहार गर्छन् भन्ने समाजको यथार्थलाई रमाइलो ढंगले नाटकमा प्रस्तुत गरिएको छ ।

नाटकका निर्देशक सुसनले यस नाटकले अग्रजले जस्तो संस्कार दियो सोही संस्कार नयाँ पुस्ताले सिक्छन् भन्ने समाजको यथार्थलाई दर्शाउन खोजेको बताए । नाटक निर्देशन जीवनको एक अविष्मरणीय क्षण भएको समेत उनको भनाई छ ।
‘मेरो जीवनको पहिलो नाटक निर्देशन भएको हुँदा थुप्रै समस्या र डरहरू थिए तर कलाकार साथीहरूको राम्रो प्रयास र पोखरा थिएटरको सम्पूर्ण परिवारको सहयोगले समस्यालाई सहजै समाधान गर्न सहयोग भएको छ’ उनले भने ।

नाटक निर्देशनको क्रममा कलाकार साथीहरूले गर्नु भएको मिहिनेत र अग्रजहरूले दिएको साथले झनै ऊर्जा थपिएको उनले बताए ।

बालमन्दिर मा.वि.का प्राचार्य सुशील बस्नेतले पोखराको नाट्य क्षेत्रमा पोखरा थिएटरले विकास र परिवर्तनमा खेलेको भूमिका सराहनीय रहेको बताए । विद्यार्थीमा पढाइको साथसाथै अन्य जीवनोपयोगी सिपहरूको विकास गर्नुपर्नेमा उनको जोड छ । ‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरूमा जीवन्त कला र अभिनयको क्षेत्रमा थिएटरले गरेको सहयोगले बालबालिकाहरूमा रहेको कला र सिपलाई शसक्त रूपमा प्रस्तुत गरी जीवनमा सफल हुन सिकाएको छ’ उनले भने ।

विद्यार्थीहरूमा लुकेर रहेका विभिन्न प्रकारका सिप तथा क्षमताहरूलाई प्रस्फुटन गराई अन्तरवैयक्तिक सिप र आत्मवलको विकास गराउन नाटक महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले गरे ।

नाटकमा राजकुमारी महरा, सुचक सुवेदी, आदित्य भेटुवाल, निश्चल रानाभाट, अरुण कोइराला, रस्मि शर्मा, सुइकृत्री पौडेल, सुपृया तामङ्ग, ओजश्वि अधिकारी, ललिता छन्त्याल, किस्मत गौतम, पृन्सेस तामाङ, समृद्दि पौडेल, ऐलिसा तिमिल्सिना, कृतिका मगर, रिजन छिनाल, कुमार शेर्पाली, गृष्मा वि.क. गरिमा पौडेल, सभ्यता डांगीको अभिनय हेर्न पाइनेछ । नाटकको लागि पोष्टर स्केच अमृत परियार तयार पारेका छन् ।

‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । थिएटरले २०७६ मा पहिलोपटक महानगरपालिका स्तरिय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव आयोजना गर्‍यो । लगातार तीन वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गरेको हो ।

यो महोत्सवमा पोखराका १४ विद्यालयका नाटक र अतिथि नाटकको रुपमा काठमाडौंबाट थप एक नाटक गरेर कुल १५ नाटक मञ्चन हुने आयोजकले बताए । ती नाटकमा शिलान्यास, भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाच्नेहरू, खेल्ने बेला खेल्छौं, पढ्ने बेलामा पढ्छौं, कीर्तिपुरको युद्धमा, मुना मदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँ जस्ती गोरी, कर्मको फल, यती, बिर्सन नसकिने मान्छे र मसान रहेका छन् । यि मध्ये केही नाटक मञ्चन भैसके । केही मञ्चन हुने क्रममा रहेका छन् ।

महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्ड्रेनले सहकार्य गरेका छन् । महोत्सवको प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका कार्यालय रहेको छ ।

महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताको लागि १ हजार रुपैयाँ तिरेर सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए । भदौ २७ गतेबाट सूरु भएको महोत्सव असोज १२ गतेसम्म सञ्चालन हुनेछ । मञ्चन भएका हरेक नाटकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले खुलाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्