काठमाडौं । एसिया कपको उपाधि भारतले जितेको छ ।
फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो ।
भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नटआउट रहे ।
यो भारतको ८औं एसिया कप उपाधि हो ।
यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५ दशमलव २ ओभरमा जम्मा ५० रन जोड्दा अल आउटभयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।
सिराजले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ६ विकेट लिए । हार्दिकले २.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । बुमराहले ५ ओभरमा १ मेडन राख्दै २३ रन खर्चेर १ विकेट लिए । कुदलिपयदवले १ओभरमा १ रन मात्र दिए ।
श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशान हेमन्था १३ रनमा अविजित रहे ।
पहिलो ओभरमै जसप्रित बुमराहले कुसल परेरालाई आउट गर्दै भारतलाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि सिराजले खेलको चौथो ओभरमा शानदार बलिङ गर्दै चार विकेट लिए ।
सिराजले पहिलो बलमा पथुमनिसानका, तेस्रो बलमा सदिरा समराविक्रमा, चौथो बलमा चरिथा असलंका र छैटौं बलमा धनन्जयडा शिल्भालाई आउट गरे ।
खेलको छैटौंओभरमा सिराजले श्रीलंकाका कप्तान दसुन सनाकालाई बोल्डगर्दै करियरमै ओडीआई खेलमा पहिलो पाँच विकेट लिए । त्यतिबेलासम्म श्रीलंकाले १२ रन बनाउदा नै ६ विकेट गुमाइसकेको थियो ।
१२औं ओभरमा सिराजले कुल मेन्डिसलाई बोल्ड गरे । त्यसपछि हार्दिक पाण्ड्याले लगातार तीन विकेट लिए । यसअघि सुपर फोर चरणमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको थियो ।















