राजाराम पौडेल, पोखरा । विगत चारवर्षदेखि रोकिएको र्याण्डम रिडर्स सोसाइटीले सञ्चालन गर्ने पुस्तक परिचर्चा कार्यक्रम पुनः सुरु भएको छ । जस अनुसार सोसाइटीले शतक शृंखलामा रमेश सायनको उपन्यास ‘अन्तर’ माथि परिचर्चा सम्पन्न गरेको छ ।
यस अगाडि २०७६ साल साउन ३२ गते शनिबार ९९ औं शृंखलामा पत्रकार तथा लेखक संगीता खड्काको ‘युद्धका ती दिन’ माथि परिचर्चा गरिएको थियो । सोसाइटीले कोरोना कहरका कारण यो कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताउने गरेपनि नेपालमा कोरोना कहर सुरु नहुँदै परिचर्चा कार्यक्रम रोकिएको हो । अहिले सोसाइटीको नयाँ नेतृत्व सहितको कार्यसमिति आएपछाडि कार्यक्रमलाई निरन्तरता दिन खोजेको छ । जसको सुरुवात भैसक्यो ।
शतक श्रृखलाको कार्यक्रममा बोल्दै र्याण्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले केही वर्षको शक्ति सञ्चय पश्चात अब यात्रा पुनः सुचारु भएकोले अब नरोकिने बताए । ‘विभिन्न कारणले निरन्तरता दिन सकेका थिएनौं, कोरोनाले पनि यस्मा केही असर गर्यो, यो बिचमा हामीले शक्ति सञ्चय गरेका छौं, सञ्चय गरेको शक्तिका कारण समेत यात्रा सानदार बन्ने विश्वास छ’ उनले भने ।
कार्यक्रममा उपन्यास माथिको अवधारणापत्र गणेश कार्कीले प्रस्तुत गरेका थिए । सामाजिक विभेद तथा यौनिक अल्पसंख्यकहरुको बारेमा उजागर गरिएको उपन्यास माथि सहभागी पाठकले विभिन्न जिज्ञाशा राखें । लेखक सायनले उनीहरुका जिज्ञाशालाई कुटिल ढंगले मेटाउने प्रयास गरें ।
पुस्तकमाथिको परिचर्चा कार्यक्रमले पुस्तक प्रेमी, पुस्तकका बारेमा जान्न बुझ्न खोज्नेलाई श्रष्टासँग प्रत्यक्ष भेट्न मात्र नभएर पुस्तकको बारेमा आफ्ना खुल्दुली मेटाउने अवसर समेत जुटाउँछ । फलस्वरुप लेखक र पाठकका लागि यस्तो अवसर अविस्मरणीय बन्ने गर्छ ।
यसरी जन्मिएको थियो र्याण्डम
वि.स.२०५८ सालमा लेखक गनेस पौडेलले पोखरामा पुस्तक पढ्ने बानीको विकास गर्नका लागि क्याफे खोल्ने सोच बनाए । यो कुरा साथी राजन गोदार लगायतलाई सेयर गरे । उनको कुरा सुनेपछि गोदारको एकल लगानीमा रिर्डस क्याफेको स्थापना भयो । कफीको स्वादमा पुस्तक पढ्ने बानीको विकास गराउने उद्धेश्य बोकेको यो क्याफे लामो समय सञ्चालन हुन भने सकेन । एक वर्षमाननै बन्द भयो ।
क्याफे स्थापना गरेर पढ्ने बानीको विकास गराउने लक्ष्यमा असफल भएपछि गनेस अध्ययनको शिलशिलामा काठमाण्डौ फर्किए । उनमा पढ्ने बानीको विकास गर्नका लागि केही न केही गर्ने सोच भने कायमै थियो । अध्ययन सकाएर वि.स.२०६५ सालमा पोखरा फर्किएपछि संस्था दर्ता गरेर आफ्नो पुरानो योजनालाई मुर्तरुप दिन कस्सिए ।
गुरुपुर्णिमाको सन्दर्भ पारेर उनले संस्था स्थापना गर्न नेतृत्व गर्न खोजे । यो कुरा साथीहरुसँग सेयर गरें । यो जानकारी प्राध्यापक राजेन्द्र चापागाईलाई गराए । तर चापागाईले संस्था खोल्ने कुरालाई केही समय पछि धकेल्न आग्रह गरें । उनको आग्रहमा संस्था स्थापना गर्ने दिन एक हप्ता धकेलियो । सूरुमा आफैले संस्थाको नेतृत्व गर्ने सोच बनाएका परिकल्पनाकार पौडेलले संस्थाको नेतृत्व चापागाईलाई दिन राजी भए । यसरी स्थापना भएको थियो पोखरामा र्याण्डम रिडर्स सोसाइटी अफ नेपाल । यो संस्थाले कानूनी रुपमा मान्यता भने वि.स.२०६७ सालमा पाएको हो । विगतको र्याण्डम रिडर्स सोसाइटी अफ नेपाल अहिले भने र्याण्डम रिडर्स सोसाइटी पोखरा बनेको छ ।
पुस्तक माथि परिचर्चा कार्यक्रम २०६५ सालको असारमा कृष्ण धारावासीको ‘टुडाल’बाट सुरु भएको थियो । कुनै समय कार्यक्रममा सहभागी हुन ५० रुपैयाँ तिर्नुपर्नेहुन्थ्यो । तर अहिले कार्यक्रममा सहभागी हुन पैसा तिुर्न पर्दैन ।
सोसाइटीका अध्यक्ष प्रभावीले अहिले साथीहरुबाट उठाए कार्यक्रमको खर्च धान्ने गरिएको भएपनि अब सोसाइटीसँग रहेको कोषलाई व्यवस्थापन गर्ने उनले खुलाए । ‘अहिले हामीले साथीहबाट उठाएर खर्चको जोहो गर्ने गरेका छौं, कहिलेकाही प्रकाशकबाट समेत सहयोग आउँछ, हामीसँग कोष छ, त्यसलाई व्यवस्थापन गर्ने काम बाँकी हो, अब हामी त्यसलाई व्यवस्थापन गरेर लैजान्छौ’ अध्यक्ष प्रभावीले थपे ।
विभिन्न कारणले पठन संस्कृति घटेको आभास भैरहेको बेला सोसाइटीको सक्रियताले पठन संस्कृति बढाउन थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
















