ऐतिहासिक घटनामा आधारित ‘कीर्तिपुरको युद्धमा’ असोज ४ गते मञ्चन हुने

ऐतिहासिक घटनामा आधारित ‘कीर्तिपुरको युद्धमा’ असोज ४ गते मञ्चन हुने

राजाराम पौडेल, पोखरा । नाटक ‘कीर्तिपुरको युद्धमा’ पोखरामा मञ्चन हुने भएको छ । पोखरा थिएटरले आयोजना गरेको विद्यालय नाटक महोत्सवमा असोज ४ गते बिहीबार यो नाटक मञ्चन हुने निश्चित भएको हो । नाटक गुरुकुल विद्या सदन, नयाँबजार पोखराको प्रस्तुतीमा मञ्चन हुनेछ । हृदयचन्द्र सिंह प्रधानले लेखेको नाटक मिलन श्रेष्ठको निर्देशनमा तयार भएको छ ।

नाटककार हृदयचन्द्रसिंह प्रधानले वि.सं. १८२४ मा पृथ्वीनारायण शाहले कीर्तिपुर युद्ध गरेर विजय भएको सन्दर्भलाई चित्रित गर्दै कीर्तिपुरको युद्धमा भन्ने ऐतिहासिक घटनाको उल्लेख यस नाटकमा भएको छ । श्रृङ्खलाबद्ध ऐतिहासिक घटना नाटकमा समावेश गरिएको छ । त्यतीबेला युद्धमा केटी मान्छे भाग लिन पाउँदैनथे तर पनि कीर्तिपुरबाट महिलाहरू पुरुषको भेषमा आएर युद्ध लडेका थिए । कीर्तिपुरकी एक बहादुर वीरङ्गगनाले आफ्नो राज्य बचाउन युद्ध गरेकी थिइन् भन्ने बारेमा यो नाटक तयार भएको छ । आफ्नो राज्य बचाउन युद्ध गरेकी एउटी महिलाले कतिसम्म गर्न सक्छिन् भन्ने सन्देश नाटकले दिएको छ ।

नाटकका निर्देशक श्रेष्ठले चुनौतीका बिच सम्भावनाहरूलाई खोज्दै यो नाटक तयार पारेको बताए । यो आफ्नो लागि सुनौलो अवसर समेत रहेको उनको भनाई छ । ‘मैले केही नाटक, सिरियलमा अभिनय गरे पनि यो नाटक निर्देशन मेरो लागि सुनौलो अवसर हो, जसबाट मैले धेरै कुराहरु सिक्ने र सिकाउने मौका पाएँ’ उनले भने ।

आफ्नो राज्य बचाउन एक महिलाले कतिसम्म गर्न सक्छिन् भन्ने विषयवस्तु यस नाटकमा समावेश छ । ‘एक ऐतिहासिक क्षण जुन हामीले सुनेको तर देख्न नपाएको कालखण्डलाई सम्झाउनका लागि पनि मैले यो नाटक गर्ने अठोट गरें, मैले लिएको अठोटमा दर्शकले रसस्वादन गर्नु हुने छ भन्ने पूर्ण विश्वास छ’ उनले थपे ।

गुरुकुल विद्या सदनका प्रिन्सिपल नारायण आचार्यले आधुनिक शिक्षा प्रणालीको मूलभूत विशेषता भनेको विद्यार्थीहरूलाई उनीहरूको रुचि र क्षमता नभएका विषयमा अल्झिन नदिनु र आफूभित्र रहेको प्रतिभालाई विद्यालय स्तरमै प्रष्फुटित हुने अवसर दिनु रहेको बताए । पोखरालाई केन्द्रबिन्दु बनाएर विद्यालयस्तरमा अभिनय र नाटककलालाई जोड्ने अभियानमा पोखरा थिएटर जुटेकोमा उनले प्रशंसा समेत गरें ।

नाटकमा सौगात सिंह कुँवर, एलिसा सुनार, प्रिन्स कुमार, श्लोक गुप्ता, कृष भट्टराई, इमरान अतारी, विश्वास अधिकारी, प्रिन्स घिमिरे, निश्चिल आले, निश्चिल गिरी, अन्कित अधिकारी, सुगम लामिछाने, प्रनिसा साई, ग्रसीअश भट्ट र सुमित्रा के.सी.को अभिनय हेर्न पाइनेछ । नाटकलाई परिपक्क बनाउन उनीहरुले निकै मेहनत गरेका छन् ।

‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । थिएटरले २०७६ मा पहिलोपटक महानगरपालिका स्तरिय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव आयोजना गर्‍यो । लगातार तीन वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गरेको हो ।

यो महोत्सवमा पोखराका १४ विद्यालयका नाटक र अतिथि नाटकको रुपमा काठमाडौंबाट थप एक नाटक गरेर कुल १५ नाटक मञ्चन हुने आयोजकले बताए । महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्ड्रेनले सहकार्य गरेका छन् ।

महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताको लागि १ हजार रुपैयाँ तिरेर सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए । भदौ २७ गतेबाट सूरु भएको महोत्सव असोज १२ गतेसम्म सञ्चालन हुनेछ । मञ्चन भएका हरेक नाटकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्