काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी सामाजिक न्याय र सुशासनको क्षेत्रमा जनपक्षीय कामको सुरुआत गरेको बताएका छन् ।
आज जनतासँग माओवादी : विषेश रुपान्तरण तीन महिले अभियानको भर्चुअल उद्घाटन गर्दै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा कैयौं काम गरेको बताए ।
उनले भने, ‘सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामहरु अगाडि बढाई रहेको छ । एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सृजना गरिरहेको छ ।’
अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेकै कारण राजनीतिक दल र नेतृत्वप्रतिको निराशालाई आशामा परिणत गराएको चर्चा गरे ।
उनले जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको भन्दै प्रचण्डले भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण,सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानविन र कारवाहीले जनतामा उत्साह आएको दाबी गरे मात्र गरेनन् अभियानले माओवादी देशको सबैभन्दा बलियो शक्ति बन्ने समेत बताएका छन् ।
प्रचण्डले नेपाली समाजको परिवर्तका लागि आफूले संघर्ष र आन्दोलन गर्दै आएको उल्लेख गर्दै आफ्नो जिवनमा अबको बाटो नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने मात्रै भएको दाबी गरे ।
उनले भने, ‘मैले बारम्बार भन्दै आएको छु,मेरो जिवन संघर्ष र आन्दोलन भन्दा पर छैन् । देश र जनताप्रति समर्पित हुदै नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक मेरो अन्य कुनै उद्देश्य पनि छैन् ।’
उनले आफूले प्रधानमन्त्री भएदेखि नै लिएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको पक्षमा लिएको प्रतिज्ञालाई नतोड्ने पुन प्रतिवद्धता जनाए । त्यस्तै उनले क्रान्ति देखि शान्तिसम्मको यात्रामा आफ्नो हरेक समय,पाइला र पल जनताको पक्षमा वितेको दाबी गरे ।
‘जिवनको युवा अवधिदेखि मेरो पूर्ण समय क्रान्ति ,परिवर्तन र जनताको पक्षमा वित्यो । अब जनताले चाहेको सुशासन,संमृद्धि र सामाजिक न्यायको क्षेत्रमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिज्ञा मैले लिएको छु । हिजो क्रान्तिको क्षणमा होस या आज शान्तिको क्षणमा मेरा हरेक पाइला,हरेक क्षण ,हरेक समय देश र जनताकै पक्षमा वितेका छन्,’ प्रचण्डले भने ।
सरकारले विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले सरकार र प्रणालीप्रति जनविस्वास बढ्र्दै गएको जिकिर गरे ।