पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित भएको बताएका छन् ।
समाजवादी मोर्चा गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले नेपालको बारेमा धेरै चर्चा परिचर्चा चले पनि अब नेपालमाथि उठेका प्रश्न निराधार रहेको बताए ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले हालै सिआईबीले नेपालसँग बयान लिएको र निर्दोष साबित गर्दै मुद्दा चलाउन नपर्ने भनेर लिखत रूपमै दिएको प्रचण्डको भनाई थियो ।
धेरै चुनौतीको सामना गरेर भ्रष्टाचार विरुद्धको महाअभियान सुरु गरिएको बताउँदै प्रचण्डले दोषी भए आफैलाईसम्म कारबाही गर्न प्रहरीको राष्ट्रिय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएको बताए ।
‘सानो उद्देश्यले महाअभियान सुरु गरिएको होइन, प्रहरीलाई, सेक्युरिटी फोर्स र सबै अनुसन्धानकर्तालाई मैले भनेको छु, तपाईँहरूले अनुसन्धान गर्दै जानुहोस् निष्पक्ष, निस्वार्थ रूपमा बाटोमा प्रचण्ड देखियो भने नछोड्नुहोस् भनेको छु मैले,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले माओवादी, काँग्रेस, एमाले, समाजवादी जो सुकै होस कोही नछुटोस् तर निर्दोष नपरोस् भनेर आफूले प्रहरीलाई कडा रूपमा निर्देशन दिएको उल्लेख गरे ।
पार्टीका शीर्ष नेताबाटै देशमा ठुलो भ्रष्टाचार भएकोले देशको आर्थिक विकास र सुशासन हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको जालोलाई तोडेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
देशमा क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको थाहा पाउनासाथ सरकारले अनुसन्धान सुरु गरेको उल्लेख गर्दै प्रचण्डले तस्करीमा धेरै खालका व्यक्तिहरुको सेटिङ रहेको बताए । प्रधानमन्त्री प्रचण्डले सेटिङ नभइ सुन तस्करी सम्भव नरहेको दावी गरे ।
नेपाल अब छिट्टै श्रीलङ्काको स्थितीमा पुग्छ भन्ने आँतक सृजना गर्न खोजिएको अवस्थामा आफू प्रधानमन्त्री भएको बताउँदै उनले अर्थतन्त्रमा देखिएको भयानक सङ्कटलाई समाधान गर्ने तर्फ आफु नेतृत्वको सरकार लागिपरेको बताए ।