काठमाडौं । नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । चाडपर्वका कारण एक दिन अगाडि नै बिहीबारबाट यी चलचित्र प्रदर्शन गरिएका हुन् ।
राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गरेकी छन् । यस चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन् ।
चलचित्रमा राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति र समाजसँग जोडिएको विषयहरूलाई देखाइएको छ । केपी फिल्मको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतले अभिनय गरेका छन् ।
प्रदर्शनमा आएको अर्को चलचित्र ‘गणपति’ लाई सविन अधिकारीले निर्देशन गरेका छन् । उनकै लेखन रहेको सो चलचित्रमा निःसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।
चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङलगायतले अभिनय गरेका छन् । अभिनेता भुसालले चलचित्रमार्फत समाजको विकृतिलाई व्यङ्ग्य गरिएको बताए ।