बागमतीमा तीन पाङ्ग्रे सवारीको नवीकरण सुरु

बागमतीमा तीन पाङ्ग्रे सवारीको नवीकरण सुरु

हेटौंडा । बागमती प्रदेश सरकारले तीन पाङ्ग्रे सवारी साधनको नवीकरण प्रक्रिया थालेको छ ।
प्रदेश राजधानी हेटौंडामा तीन पाङ्ग्रे सवारीको व्यवस्थापनका लागि भन्दै, हेटौंडा उपमहानगरपालिकाले लागू गरेको स्टीकर प्रणालीलाई व्यवस्थित गर्न आइतबारदेखि नवीकरण कार्य सुरु गरिएको हो ।

आइतबार नवीकरण गर्न आएका तीन पाङ्ग्रेमध्ये ५१ वटाको मात्र नवीकरण भएको छ । स्वरुप परिवर्तन गरी दुर्घटना बढाउने सम्भावना भएका तीनसय भन्दाबढीलाई फिर्ता गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यले बताए । ‘स्वरुप परिवर्तन गरिएका र सवारी ठीक हालतमा नभएका तीन सय बढी तीन पाङ्ग्रेलाई बनाएर ल्याउन पठाइएको छ’, प्रहरी निरीक्षक आचार्यले भने ।

सुधार भएर आएपछि नवीकरण गरेर स्टिकर टाँसिने उनले बताए । प्रहरी निरीक्षक आचार्यका अनुसार नवीकरण गर्न आएका अटोहरुको हेडलाइट, ब्याकलाइट र साइड लाइट नबल्ने, अनावश्यक स्टिकर टाँसेर सिसामा दृष्टि समस्या भएको, अटोका ब्याक स्क्रिन छोपिएको, लुकिङ ग्लास थपिएको र समाजमा नकारात्मक सन्देश फैलिने कुराहरु लेखिएको तीन पाङ्ग्रेलाई नवीकरण नगरी फर्काइएको हो ।

हेटौंडा क्षेत्रमा चल्ने अनुमति पाएका भन्दा धेरै अन्यत्र जिल्लाबाट समेत तीन पाङ्ग्रे सवारीहरु भित्रिएपछि उपमहानगरपालिकाले संख्या नियन्त्रण गर्न गतवर्षदेखि स्टिकर प्रणाली लागू गरेको थियो ।

२०७६ साल पुस ७ भित्र हेटौंडा उपमहानगरभित्र चल्ने रुट इजाजत प्राप्त अटो र ई–रिक्सालाई मात्र गतवर्ष हरियो स्टिकर वितरण गरिएको थियो । ‘हरियो स्टिकर वितरणपश्चात् संख्या स्वात्तै घटेको र व्यवस्थापन सहज भएको हेटौंडा

उपमहानगरपालिका तीन पाङ्ग्रे स्टिकर व्यवस्थापन समिति संयोजक तथा नगरका प्रवक्ता सविन न्यौपानेले बताए ।
‘अझै केही संख्यामा अनधिकृतरुपमा भित्रिएको सूचना पाएका छौं’, संयोजक न्यौपानेले भने ।

उनका अनुसार २०७६ साल पुस ७ भित्र भित्रिएका र पुरानै रुट इजाजत भएकालाई मात्र पहिलो चरणमा चेकजाँच गरी नवीकर गरी पहेँलो स्टिकर वितरण गरिएको छ। सोही मितिमा भित्रिएर प्रतिलिपि रुट इजाजत लिएकाहरुको हकमा दोस्रो चरण र गतवर्ष सबै प्रक्रिया पुगेर पनि विविध कारणले छुटेकाहरुलाई तेस्रो चरणमा स्टिकर वितरण गरिने संयोजक न्यौपानेले बताए ।

नविकरण कार्यक्रम सुरु गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले हेटौंडा बजारलाई तीन पाङ्ग्रे सवारीको संख्या बृद्धिबाट हुनसक्ने समस्या समाधान गर्दै गरिखाने वातावरण सिर्जना गर्न उपमहानगर लागिपरेको बताइन् । उनले मापदण्ड पुगेका तीन पाङ्ग्रेबाहेक अन्यलाई हेटौंडामा चल्न अब पूर्णरुपमा रोकिने बताइन् । उनले भनिन्, ‘अब थप सवारी भित्र्याउन नसक्ने अवस्था सिर्जना भइसकेको छ, भएकोलाई व्यवस्थित बनाएर चलाउन उपमहानगर तयार छ ।’

प्रमुख लामाले अब भाडा समायोजन र रुट व्यवस्थापनमा उपमहानगर लाग्ने बताइन्।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्