पोखरा । स्थानीय तहमा युवा सहभागीता र उद्यमशिलता विषयमा अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरुले स्थानीय तह र युवाहरुबिच दुरी रहने गरेको गुनासो गरें । युवाहरु र सरोकारवालाबिच भएको यस अन्तरक्रिया कार्यक्रममा सरकारी निकायको उदासीनता प्रति सहभागी युवाहरुले आक्रोस पोखे ।
उनीहरुले स्थानीय तहले युवामैत्री कार्यक्रम ल्याउन नसकेको, केही सिमित मात्रामा ल्याउने गरेका कार्यक्रम समेत पहुँचवालाको कब्जामा जाने गरेको, नेपालमा सुरक्षीत भविष्य नदेखेर नै युवाहरु विदेशिने क्रम बढेको दावी गरें ।
यस्तै देशमै रहेर केही गर्न चाहने युवाको भविष्य सुमधुर बनाउन स्थानीय निकायले पहल गर्नुपर्नेमा नभएको, फरक क्षमता भएका युवाहरुले क्षमता हुँदा समेत अवसर नपाएका लगायतका गुनासा उनीहरुका थिए ।
समस्या मात्र उनीहरुले राखेनन् । केही समाधानका उपाए पनि सुझाए । नेपालको शिक्षा प्रणालीलाई उत्पादन र रोजगारसँग जोड्नसके प्रभावकारी हुने भनाई उनीहरुको थियो । नीति निर्माण र विकास निमार्णमा युवाहरुलाई समेट्नुपर्नेमा उनीहरुले जोड दिए ।
युवाहरुको जिज्ञासा सुनेपछि जवाफ दिंदै पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनहरी कडरीयाले सरकारी निकायप्रति युवाले आक्रोस पोख्नुभन्दा सहकार्य गर्नुपर्ने बताए । गलत धारणा, गलत प्रचार, अफवाहले जनमानसमा सरकारी निकायप्रति गलत नजिर बसेको उनले बताए ।
पोखरा महानगरपालिका वडा नं ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानीले आफ्नो वडाले संचालन गर्ने कार्यक्रमहरुमा युवाहरुको सहभागितालाई बढाउन पहल गर्ने प्रतिवद्धता जनाए । युवाहरुले जनप्रतिनिधि र विभिन्न तहका सरकारलाई बेला–बेलामा झकझकाउन आवश्यक रहेको समेत उनले बताए ।
कार्यक्रमको आयोजना एकाण्टाबिलिटी ल्याब नेपालले गरेको थियो । सुशासन प्रवर्द्धन, सदाचारीता र जवाफदेहिता अभिवृद्धि तथा सहभागीतामुलक लोकतन्त्रको लागि युवा सहभागीता बढाउन एकाण्टाबिलिटी ल्याब नेपालले काठमाण्डौं, पोखरा लगायतका देशका विभिन्न ठाउँमा कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक जयन्ती शर्माले जानकारी दिइन् ।