काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् ।
राप्रपाको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग उनले नेपालको सिमानाभित्र गाई, गोरु मार्नेलाई तीन वर्षको जेल सजायको स्पष्ट कानून रहेको भन्दै अपराधीलाई सजाय नभए धरानमा सुरु भएको आन्दोलन सिंहदरबारसम्म आइपुग्ने चेतावनी दिए।
उनले भने, ‘नेपालको कानुनमा स्पष्ट पशुपन्छी सम्बन्धी कसुरमा के राखेको छ भने कुनै व्यक्तिले गाई वा गोरु मारे भने नेपालको सिमानाभित्र मारे भने तीन वर्षको जेल सजाय भनेर कानून स्पष्ट छ । त्यस कारण यो कानून अन्तरगत बसेर गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छौ की त्यो अपराधीलाई कारबाही गरियोस् । यदि उक्त कार्य भएन भने यो आन्दोलन धरानमा टेलर मात्रै हो, यो आन्दोलन देशभरि हुन्छ । र तपाईँले थामेर थाम्न सक्नु हुन्न सिंहदरबारभित्र पनि आन्दोलन हुन्छ । ’
उनले कानुनको पालना गराउने काम सरकारको भएको भन्दै नेपालको कानुनमा उल्लेख भएको कुरा लागू नगर्ने, दुई चार जनाले पैसा दियो भन्दैमा गृहमन्त्री चुप लागेर बस्न नमिल्ने टिप्पणी गरे ।
उनले भने, ‘अहिले पनि हामी गृहमन्त्रीलाई के अनुरोध गर्न चाहन्छौ भने नेपालको संविधान र नेपालको कानून सरकारले मान्न पर्छ । कानुनको पालना गर्नुपर्ने काम सरकारको हो, नेपालको कानुनमा त्यो कुरा उल्लेख भएको छैन भने अर्को कुरा हो नेपालको कानुनमा उल्लेख भएको कुरा पनि लागू नगर्ने, दुई चार जनाले पैसा दियो भन्दैमा गृहमन्त्री चुप लागेर बस्न पाइन्छ । ’
शाहीले आमाबुबा मारेपछि घरमा चुप लागेर बस्ने कायर राप्रपा नभएको उल्लेख गर्दै धरानको अपराधमा जनजाति जस्तो देखिने देशका धर्म बेचेका केही अराजक वादी युरोपियन युनियनका डलरवादीहरूको संलग्नता भएको बताए ।