काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचन भएको नौ महिनापछि संसद्का विषयगत समिति सभापतिहरूको निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाका विभिन्न दश समितिका सभापतिहरू निर्वाचन चुनाव भएको नौ महिनापछि भदौ ११ गतेका लागि तोकिएको हो । समिति गठन भएको चार महिनापछि त्यसले नेतृत्व पाउन लागेको छ ।
प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले गत वैशाख ११ गते समितिको संख्यामा सहमति गरेका थिए । साथै समितिका सभापतिको संख्यामा पनि दलहरू बीच सहमति भएको जनाइएको थियो । तर, कुन कुन समिति भन्ने टुंगो लाग्न ढिलाइ भएको थियो । विपक्षी एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएपछि समिति गठनमा ढिला भएको हो ।
बुधबार देखि संसद सुचारु भएसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभापतिको निर्वाचनको मिति घोषणा गरेका हुन् । सभामुखले घोषणा गरे बमोजिमको समयमा निर्वाचन गर्नका लागि संसद सचिवालयले बिहीबार नै सभापतिको निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ ।
आगामी भदौ ११ गते सोमबार ३ बजे हुने निर्वाचनका लागि उमोदवारी दर्ता भने भदौ १० गते बिहान ११ बजेदेखि दिनको ४ बजेसम्म तोकिएको छ । सोही दिन अपरान्ह ४ बजेर ३० मिनेटको समय तोकिएको छ । सभापतिको निर्वाचन प्रत्येक समितिको कार्यकक्षमा एकै समयमा गरिने छ ।
संसदमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति छन् ।