त्रिशुली बस दुर्घटना : ट्रमा सेन्टरमा उपचाररत ९ मध्ये ३ को अवस्था गम्भीर

त्रिशुली बस दुर्घटना : ट्रमा सेन्टरमा उपचाररत ९ मध्ये ३ को अवस्था गम्भीर

काठमाडौं । धादिङको गजुरी गाउँपालिका २ मा बुधबार बिहान भएको बस दुर्घटनाका घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर बद्रि रिजालले बताएका छन् ।

त्रिशुली नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनमा परी घाइते भएका १६ जना मध्ये ट्रमा सेन्टरमा ९ जनालाई उपचारको लागि ल्याइएको हो । सो मध्ये तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सक बद्रि रिजालले जानकारी दिए ।

उनले भने, ‘गजुरीमा भएको दुर्घटनाका बिरामी हाम्रोमा ९ जना आइपुग्नु भएको छ । त्यसमध्ये तीन जनाको अवस्था अलिकति सिकिस्त छ । त्यो बाहेकको अरु विरामीको अवस्था स्टेवल नै छ ।’

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ बाट त्रिशुली नदीमा खसेको थियो । प्रहरीले दुर्घटनास्थलबाट २६ जनाको उद्दार गरेको छ ।

यसैबीच दिनानुदिन हुने सवारी दुर्घटनाबाट नेपालमा वर्षेनी धेरै मानिसले अकाल मृत्युवरण गर्न बाध्य छन् । आर्थिक वर्ष २०८९ /८० मा मात्रै २३ हजार ५९७ वटा सवारी दुर्घटना भएको तथ्यांक प्रहरीमा छ । उक्त दुर्घटनामा ३७ हजार ३९२ वटा सवारी साधनमा क्षति पुगेको छ भने,एक वर्षमा मात्रै २ हजार ३६८ जनाको मृत्यु भएको छ । त्यस्तै, सडक दुर्घटनामा परी ५ हजार ७३८ जना गम्भीर र २४ हजार ४८८ जना साधारण घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

नेपालमा बढ्दो सवारी साधन दुर्घटना र त्यसमा परी मृत्यु हुने तथा घाइते हुनेको संख्या बढ्दै गैरहेको अवस्थामा हामीले पूर्व ट्राफिक प्रहरीका पूर्व डिएसपी तथा सडक सुरक्षाविद विपिन गौतमलाई हाइवेमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न कस्ले के गर्नुपर्छ भनेर सोधेका छौं ।

‘सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि चालकले पालना गर्नुपर्ने केही विशिष्ट नियमहरु हुन्छन् ति नियमहरु प्रत्येक चालकहरुले कमसेकम पनि छ महिनामा एक पटक ट्राफिक प्रहरीले सञ्चालन गरेको कक्षा अथवा संघ संस्थाले सञ्चालन गरेको कक्षामा राखेर चालकले शिक्षा लिएभने अहिलेको अवस्थामा कमसेकम सवारी दुर्घटना न्यूनीकरण गर्न जानकारी राख्न सक्नुहुन्छ र दुर्घटना कम गर्न सक्नुहुन्छ । अर्को कुरा सवारी चालकहरुमा अलिकति गति बढाउने र सधैं चलाईरहेको बाटो हो सवारी हो भन्ने जुन धारणा बनेको छ त्यो हट्नुपर्छ । सडक कहिल्यै पनि एकनासको हुदैनन ।उहाँहरुले सधैं सडक दुर्घटनास्थल नै हो भनेर सम्झिनुपर्छ । सवारी चलाउने बेलामा परिवारलाई सम्झिनुपर्छ, यात्री र सवारी साधनको अवस्थालाई पनि जानकारीमा राख्नैपर्छ । यो सबै कुरालाई चालकले ध्यान दिने हो भने पनि दुर्घटनामा कमी आउँछ,’ सडक सुरक्षाविद गौतम भन्छन् ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्