५० वर्षमा पनि भकाञ्जेवासीले जग्गाधनी पूर्जा पाएनन्

५० वर्षमा पनि भकाञ्जेवासीले जग्गाधनी पूर्जा पाएनन्

रामेछाप । ‘बाबु–बाजेले दुःख गरे, खोरिया फाँडे, खेती लगाए, आफ्नो भनेर जोगाए । बाबु–बाजेले दुःख गरेर जोगाएको जग्गा हामीले आफ्नो बनाउन सकेनौँ’, रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङावानुरी शेर्पाको गुनासो हो यो ।

‘जग्गा आफ्नै हो, प्रमाण पनि छ, जग्गाधनी पुर्जा पनि बनेको छ, तर हाम्रो हातमा आएन, आफ्नो हातमा पूजा नभएसम्म मेरो जग्गा भन्न पाइएन’, शेर्पाले थपे ।

रामेछापको उमाकुण्ड गाउँपालिका–१ को साबिकको गुम्देल गाविसका स्थानीयले २०३१ सालमा नापी भएको जग्गाको अझैसम्म पनि जग्गाधनी पुर्जा पाएका छैनन् । झण्डै ५० वर्षदेखि जग्गाधनी पूर्जाको पर्खाइमा रहेका स्थानीय अझै पर्खिरहेका छन् । राज्यले उनीहरूको हातमा जग्गाधनी पूर्जा हालिदिएको छैन ।

२०३१ सालमा नापी भई २०३४ फागुन ९ गते राजपत्रको सूचनामा रामेछापका ६४ जना जग्गाधनीको नाम जग्गाधनी पूर्जा पाउने सूचीमा प्रकाशित भयो । राजपत्रमा सूचना प्रकाशित भएपछि तत्कालै पाउनु पर्ने जग्गाधनी पूर्जा अहिले पनि ती जग्गाधनीले पाएका छैनन् ।
उनीहरूले पूर्जा पाउने गरी सूचना प्रकाशित भएपछि रामेछापको नक्सामा रहेको सो जग्गामा सोलु जिल्लाले आफ्नो क्षेत्रमा पर्ने दाबी गर्यो । सो विवाद पछि जग्गाधनी पूर्जा वितरणको काम रोकियो । रोकिएको काम फेरी अघि बढेको छैन । यसले नेपालको सरकारी काममा कस्तो ढिलासुस्ती हुन्छ भन्ने देखाएको छ ।

रामेछापको सिमाना भकाञ्जे खोला, उत्तिसेघारी, दुधुले, पाडाफर्के हुँदै नुम्बुर हिमाल नक्सामा छ । आफ्नो दाबी नै नलाग्ने क्षेत्रमा सोलुले विवाद गरेर स्थानीयको जग्गामाथिको स्वामित्व अन्योलमा पारेको उमाकुण्ड गाउँपालिका–१ गुम्देलका वडाध्यक्ष ङावातिण्डु शेर्पा बताउँछन् ।
स्थानीयसँग राजपत्रमा प्रकाशित सूचना मात्र होइन २०३३ सालमा तिरो तिरेको रसिद पनि छ । उनीहरूले रामेछाप जिल्लामा नै सो जग्गाको तिरो बुझाएका छन् । सो आधारमा पनि आफूहरूको पूर्जा रामेछाप जिल्लाबाटै पाउनु पर्ने उनीहरूको माग छ ।

खेती कमाई गर्दै आएको सो जग्गाको लामो समयसम्म पनि पूर्जा नआएपछि अधिकांशले बाँझै छाडेका छन् । अहिले उनीहरूको जग्गाबाट जलविद्युत आयोजनाले सडक खनेको छ । जग्गाधनी पूर्जा नभएकै कारण स्थानीयले गरेको मुआब्जा दाबीलाई आयोजनाले अटेर गरेर मुआब्जा दिएको छैन ।

उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार सो जग्गामा कुनै विवाद गर्नुपर्ने ठाउँ नै नरहेको बताउँछन् । राष्ट्रिय नक्सा र जग्गाधनीसँग भएको प्रमाणको आधारमा सो जग्गा रामेछापकै भएकोले आवश्यक प्रक्रिया पूरा गरी जग्गाधनीलाई पुर्जा दिनु पर्ने उनको भनाइ छ । यस विषयमा एक पटक निक्कै काम अघि बढेको भए पनि फेरी त्यतिकै रोकिएको उनले बताए । स्थानीयलाई जग्गाधनी पूर्जा उपलब्ध गराउन आफू निरन्तर लागि रहेको उनको भनाइ छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्