काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले लामो समयसम्म संसद अवरुद्ध गर्नु गैर जिम्मेवारीपूर्ण काम भएको बताएका छन् ।
आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले संसदीय इतिहासमा तोडफोड, चक्का जाम, सके संसद भंग नसके अवरुद्ध गर्न अहिलेको प्रमुख प्रतिपक्ष निकै माहिर देखिएको भन्दै यस्तो कार्यले मुलुकलाई सही ठाँउमा नपुर्याउँने बताए ।
उनले भने, ‘सदनमा आलोचनात्मक विचारहरु राख्ने कुराहरु हुन्छ तर लामो समयसम्म संसद अवरुद्ध भएको राम्रो होईन् । यो गैर जिम्मेवारपन पनि हो, संसदीय इतिहासमा तोडफोड चक्का जाम, सके संसद भंग गर्ने नसके अवरुद्ध गर्न अहिलेको प्रमुख प्रतिपक्ष निकै माहिर देखिएको छ । लोकतन्त्रलाई रक्षा गर्दै, संविधानको कार्यान्वयनको चरणमा यस्ता कार्यहरुले मुलुकलाई सही ठाँउमा पुर्याउँदैन् । ’
उनले लोकतन्त्रको अभ्यास गर्ने उच्च थलोमा नै यस्तो खालको कार्यले जनतामा वितृष्णा पैदा भएको भन्दै संसद सूचारु गर्न सबैले पहल गर्नुपर्ने बताए ।