काठमाडौं । प्रमुख दलका नेता सहभागि भएको कार्यदलले सुन तस्करीको छानबिनका लागि गठन गर्ने उच्चस्तरीय समितिको संरचना र कार्यक्षेत्र टुंगो लगाउने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार राति प्रमुख दलका शीर्ष नेताबीच उच्चस्तरीय समिति गठन गर्ने समझदारी बनेको हो ।
दलीय सहमति अनुसार उक्त समितिको संरचना र कार्यक्षेत्रको टुंगो लगाउन विपक्षी एमालेबाट सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसबाट रमेश लेखक र माओवादी केन्द्रबाट हितराज पाण्डे रहेको कार्यदल गठन गरिएको छ । उक्त कार्यदलको बैठक बिहान ११ बजे बस्दैछ ।
कार्यदलले समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव दिउँसो बस्ने शीर्ष नेताहरूको बैठकमा पेस गर्ने छन् । २ बजे बस्ने शीर्ष नेताहरूको बैठकमा कार्यक्षेत्र र संरचनामा समझदारी बने साउन १० गते देखि अवरुद्ध रहेको संघीय संसद सुचारु हुनेछ । प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभा १ बजेका लागि डाकिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार छलेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु साउन ३ गते सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले उपप्रधान तथा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुको साथै उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।
तीन सदस्यीय कार्यदल गठन
प्रमुख राजनीतिक दलको बैठकले तीन उच्चस्तरीय छानविन समिति बनाउन आवश्यक तयारीका लागि तीन सदस्यीय कार्यदल बनाएको छ ।
मध्यराति सकिएको बैठकले एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित कार्यदल बनाएर उच्चस्तरीय छानबिन समितिका लागि आवश्यक कार्यविधि बनाउने जिम्मा दिइएको एमाले सचेतक पदम गिरिले जानकारी दिए ।
उनले भने ‘आजपनि हामीले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउ भन्ने माग जोड तोडका साथ राख्यौं । सत्ता पक्ष पनि त्यसका लागि लगभग सहमत भएको छ । त्यसको टिओआरका लागि माननीय सुवास नेम्बाङ, हितराज पाण्डे र रमेश लेखक सहभागि कार्यदल बनेको छ । भोलि उहाँहरुले बैठक बसेर त्यसलाई टुङ्ग्याउनु हुन्छ । ’