काठमाडौं । संसदीय सुनुवाई समितिले प्रधान न्यायाधीशमा वरिष्ठतम न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सुनुवाई प्रक्रिया टुंग्याएपछि उनलाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको समितिको सभापतित्व गरेका पशुपति शमशेर राणाले बताए ।
उनले भने, ‘नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाइको लागि लेखि आएकोमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली २०८० तथा संसदीय सुनुवाई, समितिको कार्यविधि २०८० बमोजिम सुनुवाई गर्दा प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभव सहितको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति , नियमावली २०८०को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिलाई नेपालको प्रधान न्यायाधीशको पदमा नियुक्तिको लागि सर्वसम्मतिले अनुमोदनगरियो ।’
संसदीय समितिले अनुमोदन गरेका व्यक्तिलाई राष्ट्रपतिले प्रधान न्यायाधीश पदमा नियुक्ति दिने व्यवस्थाअनुसार उनलाई प्रधान न्यायाधीशमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्ने छन् ।
श्रेष्ठले कानूनमा स्नातक र राजनीति शास्त्ररमा स्नाकोत्तर गरेका छन् । २०३८ सालमा शाखा अधिकृतबाट काम सुरु गरेका उनी २०४५ साल जेठमा दार्चुला जिल्लाबाट न्यायाधीश पदबाटन्यायीक सेवा सुरु गरेका थिए ।
त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश भएका उनी ०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए । ०७० मा पुनरावेदन अदालत पोखराको कायम मुकाम मुख्यन्यायाधीश भएका उनले ०७१ सालमा पुनरावेदनअदालत हेटौंडाको मुख्य न्यायाधीश भए । त्यसको करिब दुई वर्षपछि ०७३ साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन।
उनले अहिलेसम्मको न्यायिक सेवाअवधिमा १८ हजार ६ सय ८२ थान मुद्दाको न्यायिक निरुपण गरेको संसदीय समितिमा बताएका छन् ।
श्रेष्ठले ०८१ असोज २० मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउने छन ।