काठमाडौं । संसदको अवरोध हटाउने प्रयास स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक जारी छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा संसद खुलाउन सत्तापक्ष र प्रतिपक्षको भूमिकाबारे छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री सहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरि, रास्वपा सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेताहरु सहभागी छन् ।
यसअघि सदन सुचारु गर्ने विषयमा सभामुखले बोलाएको प्रमुख सचेतक तथा सचेतक बीचको बैठक निष्कर्ष विहीन भएको थियो ।
प्रतिनिधिसभाको दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुबीचको छलफल नसकिएकाले अझै सुरु भएको छैन् ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडान सहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।