समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने

समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने

काठमाडौं । सरकारको नेतृत्व गर्दै आएको माओवादी केन्द्र सहित चार राजनीतिक दल सहभागि रहेको समाजवादी मोर्चाले सात प्रदेशमा सन्देश सभाको आयोजना गर्ने भएको छ। सन्देश सभाको स्थान र मिति तय गर्न आज आइतबार साँझ ६ बजे नेकपा एकीकृत समाजवादी (नेकपाएस)को केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक बोलाइएको हो ।

सत्ता साझेदार माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एस चन्द नेतृत्वको माओवादी चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आइतबार साँझ छ बजेका लागि तय भएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले सन्देश सभाको निर्णय गरी जिम्मेवारी समेत बाँडफाँट गरी व्यवस्थापनको काम अघि बढाउने छ। मोर्चालाई प्रदेश र जिल्ला तहमा विस्तार गर्नका लागि सन्देश सभा गर्न लागिएको हो ।

मोर्चाका अनुसार प्रदेश र जिल्ला तहमा संयोजन समिति रहने छ। कुनै पनि पार्टीका प्रदेशकाअध्यक्ष तथा प्रमुख सहित प्रत्येक पार्टीबाट प्रदेशमा तीन/तीनजना र जिल्लामा दुई/दुई जना रहने छन् । प्रदेश र जिल्लामा सचिवालय पनि गठन गर्ने तयारी छ ।

मोर्चाले कार्यविधि बनाएर चार पार्टीका अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ। त्यसको मातहतमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेकपा एसका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेको सचिवालय गठन गरेको छ । गत असार ४ गते समाजवादी मोर्चा घोषणा भएको हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्