काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज आइतबारका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुबै सदनका बैठकहरूमा आवरोध जारी राखेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
संसद भवन नयाँ बानेश्वर दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ । एमालेले अवरोध नगरे प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू जानकारी गराउने कार्यसूची छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने सहितको कार्यसूची छ ।
त्यस्तै ,प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी पनि गराउने छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी थुनामा छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ कोदफा ४२ कोउपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यक्रम छ । यद्यपी मन्त्री गुरुङ भने अस्वस्थ छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै साउन १० गते देखि संघीय संसद अवरुद्ध गर्दै आएको छ ।