चरक बन्यो ओपन हर्ट सर्जरी गर्ने गण्डकीकै पहिलो हस्पिटल

चरक बन्यो ओपन हर्ट सर्जरी गर्ने गण्डकीकै पहिलो हस्पिटल

पोखरा । पोखराको नागढुंगामा रहेको चरक मेमोरियल अस्पताल ओपन हर्ट सर्जरीमा गण्डकी प्रदेशकै पहिलो अस्पताल बनेको छ । अस्पतालमा एक साताअघि सफल ओपन हर्ट सर्जरी गराएको अस्पतालले शनिबार प्रेस मिट गरी सो बारे जानकारी दिएको हो ।

बरिष्ठ मुटुरोग विशेषज्ञ उप-प्राध्यापक डा. अनिल भट्टराईको नेतृत्वको टिमले पोखरा २०, भलामका ४५ वर्षीय विष्णु गौतमको सर्जरी सम्पन्न  गरेको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए  । ‘बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वको टिमले साउन २६ गते सफल सर्जरी गर्नुभएका  बिरामीको डिस्चार्ज हुने बेलाको खुशीयालीसमेत साटने गरी उहाँकै अगाडि हामीले यो जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ,’ निर्देशक पोखरेलले भने,  पहिलो सर्जरीको खुशी साट्न उहाँको  सर्जरी पनि  निःशुल्क गरेका छौं  । मुटुको स्वास्थ्य अवस्था  राम्रो रहेका गौतमलाई आइतबार डिस्चार्ज गरिने उनले जानकारी दिए  ।

नेपाल सरकारबाट स्वीकृत लिई झन्डै ३ करोडको अतिरिक्त लगानीमा प्राविधिक उपकरण जडान गरेसँगै अस्पताल ओपन हर्ट सर्जरीका लागि तयारी अवस्थामा रहेको उनले बताए । पोखरामा सर्जनको अभाव भएकाले  काठमाण्डौबाटै चिकित्सकीय टीम ल्याएर सर्जरीलाई निरन्तरता दिने पोखरेलको भनाइ छ   ।

ओपन हार्ट सर्जरी  प्लानमा गरिने सर्जरी भएकाले  बिरामीको आवश्यकताका आधारमा  चिकित्सकहरु चरकमा उपलब्ध हुने कुरामा निश्चिन्त हुन उनले आग्रह गरे । सरकारले मुटुरोगको उपचारमा उपलब्ध गराउदै आएको विपन्न नागरिकको १ लाख बराबरको छुटसमेत चरक  अस्पतालमा उपलब्ध हुने निर्देशक पोखरेलले बताए ।

डा. अनिल भट्टराईका अनुसार गौतमको मुटुको दुई ठूला नसा ब्लक भएकोमा  हात र छातीको अर्को तर्फको नसा  हालेर सर्जरी गरिएको हो ।  करिब ३ घण्टाको समयमा अप्रेसन सम्पन्न भएको उनले बताए  । काठमाण्डौबाहेक चितवन, बिराटनगर, धरानमा सुरु भइसकेको सर्जरी पोखरामै चरकले  सुरु गरेकाले सर्जरी गर्न काठमाडौं जानुपर्ने बाध्यता हटेको डा. भट्टराईको भनाई  छ  ।

नेपालमा पछिल्लो समय बर्षेनी २ हजार, २५ सय जनाको ओपन हर्ट सर्जरी  हुँदै आएको डा. भट्टराईले बताए । डा. भट्टराईका अनुसार कार्डियोलोजीको इन्टर भेन्सन सहित वर्षमा ६ /७ हजार जनाको मुटुको उपचार नेपालमा  हुने गर्दछ  ।

पोखरामा अन्य प्रविधिबाट मुटुको उपचार गरिँदै आएपनि छाति चिरेर गरिने सर्जरी अर्थात् ओपन हर्ट सर्जरी भने पहिलो पटक भएको हो ।

साउदी अरबमा केही वर्ष बिताएर नेपाल फर्किएपछि  मुटुको समस्या देखिएका विष्णु एक महिना अघि चरक आइपुगेकोमा अस्पतालको सबै खर्चमा सर्जरी भएको उनकी  श्रीमती रीता गौतमले बताइन । ‘काठमाडौं जानुपरेको भए धेरै खर्च लाथ्यो होला । यहाँ खर्च पनि भएन, आफ्नै ठाउँ दुःख पनि भएन,’ रीताले भनिन  ।

श्रीमानको सफल उपचार गरिदिएको भन्दै उनले चरक अस्पताल प्रशासन र डाक्टरको टोलीलाइ धन्यवाद ज्ञापन गरिन  ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्