काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताएका छन् । उनले भारत र बंगलादेश सँगको त्रिपक्षीय साझेदारीले नेपाली हित अनुुकुल परिस्थिति बन्दै जाने विश्वास व्यक्त गरे ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाइने बताए । उनले यही समझदारीबाट उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बन्ने पनि बताए ।
उनले भने ‘ यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ र अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाई उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको छ । मेरो आगामी महिनामा हुने चीन भ्रमणमा पनि उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु । ’
प्रधानमन्त्री दाहालले मित्रराष्ट्र भारतसँगको उक्त समझदारीलाई मूर्तरूप दिन सम्बन्धित निकायहरू भारतीय पक्षसँग पनि लगातार सम्पर्क र समन्वयमा रहेको बताए ।
विकासका कार्यमा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ‘प्रचण्ड’ले आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न आग्रह समेत गरेका छन् ।
उनले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमान्दार भएर एकजुट हुन आवश्यक भएको बताए ।
उनले भने ‘ आउने पिंढीलाई अँध्यारोमा राख्ने कि उज्यालो भविष्य दिएर जाने ?भन्ने गम्भीर प्रश्न हाम्रो पुस्तालाई सदैव रहनेछ । एउटा आयोजना सम्पन्नहुन ५/६ वर्ष समय लाग्छ, तसर्थ हाम्रो पुस्ताले गुणस्तरीय सेवाप्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्यदिन, विकासका कार्यमा राजनीति गर्ने होइन सबै इमानदार भएर एकजुट हुन जरूरी छ ।
प्रधानमन्त्री दाहालले नेपालमा जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिएको स्वीकार गरे ।
खोलानाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने बिडम्वनापूर्ण अवस्थाको अन्त्य गर्न योजनावद्ध रूपमा काम गरिरहेको र अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेको उनको भनाइ छ ।