काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले निष्पक्ष आयोग बन्न नदिएर सरकारले ३९ किलो सुन गायब बनाएको आरोप लगाएका छन् । पार्टी निकट उद्योग विभागले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा ओलीले, सरकारले आयोग बन्न नदिएर एक क्वीन्टल सुन ६१ किलोमा झार्न सफल भएको आरोप लगाए ।
‘दिनमा एउटा आईटममा एक क्वीन्टलका दरले आएको देखियो । ३३ पल्ट त त्यही नाउँमा ब्रेक शुका नाममा आएको देखियो । एक दिन वाध्यता पर्यो कतैबाट समातियो । ४ सय ग्राम ब्रेक शुको वेट तर त्यो ब्रेक शु साढे ९ सय ग्राम त्यहाँ ५ सय ग्राम, त्यहाँ सुन छ । सय केजी ६१ किलोम झर्यो ।’ उनले भने ‘एक क्वीन्टल भनिएको । यति दिनसम्म आयोग बन्न नदिएर गरिएको काम के भने सय केजीबाट ६१ म झर्यो । यतिन्जेल सम्म आयोग बन्न नदिएर अहिलेसम्मको सफलता भनेको ६१ मा त झरिसक्यो । ’
ओलीले सरकारले नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको टिप्पणी समेत गरेका छन् । सांसद सुनिल शर्माको गिरफ्तारी नाङ्लो ठटाउने सरकारी प्रयास भएको उनले दाबी गरे ।
उनले भने ‘एउटा सिटिङ एमपी त्यसमापनि गठबन्धनको एमपीलाई समातेर दुनियाँलाई तर्साउन खोज्या होइन् यो ? नाङ्लो ठटाएर हात्ती तर्साउने भन्छन् नी । यो नाङ्लो ठटाएको हो, सुनिल शर्माको गिरफ्तारी । ’
सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको उनको आरोप छ । ‘तर्सथ सरकार यस्तै छ । यो सरकार राम्रो काम केही गरिराख्या छैन् । ’
दिनभरी ऋण खोजेर चुलो बाल्नेले उद्योग खोल्न नसक्ने भन्दै सरकारले मुलुकको आर्थिक अवस्था कमजोर बनाउँदै लगेको आरोप लगाए ।
सरकारले आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउन थालेको भन्दै अलि पछि के गर्ला भन्दै चिन्ता व्यक्त गरे ।