रामेछाप । सिन्धुलीको दुम्जा स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिरको पारिपट्टि एउटा ऐतिहासिक गुफा रहेको छ । ऋषि विश्वामित्रले तपस्या गरेको गुफा । अर्थात् विश्वामित्र गुफा ।
काठमाडौंबाट पूर्व जाने बीपी मार्ग र खुर्कोट हुँदै घुर्मी निस्किएर खोटाङको हलेसी जाने सडक खुलेपछि पूर्वको यात्रा र तीर्थयात्रामा निस्कनेहरू दुम्जामा कुशेश्वर महादेव दर्शन गरेर मात्र जान लागेका छन् । तराई र पूर्वबाट काठमाडौं जाने पनि दुम्जाको महादेव मन्दिरमा बाक्लै पसेका देखिन्छ । काठमाडौँ उपत्यकाबाट दुम्जासम्म दर्शन गर्न आउनेको सङ्ख्या पनि निक्कै पढेको छ । सोमबार र बिदाका दिनमा कुशेश्वर महादेव दर्शन गर्ने मानिसहरूको भीड नै लाग्छ ।
काठमाडौंबाट तीन घण्टाको दूरीमा पुग्ने कुशेश्वर महादेव मन्दिर उपत्यकाबाट नजिकको तीर्थस्थल बनेको छ । सुनकोसी नदी किनारमा रहेको कुशेश्वर महादेव मन्दिरको पारिपट्टि सुनकोसी नदी किनारमा अर्को एउटा महत्पूणर् धार्मिक एवं ऐतिहासिक स्थल छ । कुशेश्वर महादेव जाँदा छुटाउनै नहुने त्यो तीर्थस्थल हो विश्वामित्र गुफा ।
कुशेश्वर जाने धेरै दर्शनार्थी सो गुफामा नपुगी फर्कन्छन । विगतमा मन्दिरबाट गुफासम्म जाने बाटो नहुँदा गुफा ओझेलमा परेको थियो । अहिले सुनकोसीमा पक्की पुल बनेपछि कुशेश्वर महादेव र विश्वामित्र गुफा जोडिएका छन् ।
रामेछापको खाँडादेवी गाउँपालिका-१ मा रहको विश्वामित्र गुफा कुशेश्वर महादेव मन्दिरबाट पैदल गए १० मिनेटमा पुगिन्छ । सवारी साधन पनि गुफासम्म नै पुग्छ । मध्य पहाडी लोकमार्गको मुनी सुनकोसी किनारमा रहेको गुफामा लुभुघाटको पुल तर्ने बित्तिकै पुगिन्छ । ‘पहिला बाटो थिएन, अहिले पुल बनेपछि सहज भएको छ’, खाँडादेवी गाउँपालिका-१ का पूर्व वडाध्यक्ष विष्णु श्रेष्ठले भने ।
नदी किनारमा रहेको यो गुफामा विश्वामित्र ऋषिले तपस्या गरेको मानिन्छ । सो गुफामा तपस्या गर्ने विश्वामित्र ऋषि योग बलले गर्दा सुनकोसी नदी पार गरी पूजाआजाको लागि कुशेश्वर मन्दिर जाने र फर्किएर आई सोही गुफामा ध्यान गर्दथे भन्ने विश्वास रहेको कुशेश्वर महादेव मन्दिरका पुजारी विष्णुप्रसाद नारालको भनाइ छ ।
बिहान बेलुका कुशेश्वर मन्दिरमा पूजा गरी नाराल बाँकी समय सोही गुफामा ध्यान गरेर बस्छन् । सो गुफामा ध्यानमा बस्दा छिट्टै आनन्द लाग्ने उनी बताउँछन् ।
सो गुफाको संरक्षणका लागि अहिले सरकारको तर्फबाट प्रयास सुरु भएको छ । गुफाको गेट बनाउनुका साथै विश्राम स्थल बनाइएको छ । जसले गर्दा गुफामा आउने दर्शनार्थी तथा पर्यटकलाई सहज भएको छ । अझै पनि प्रचार नहुँदा धेरै मानिस यो गुफामा पुग्ने गरेका छैनन् । यो गुफा उचित प्रचारको पर्खाइमा छ । ‘मन्दिर लगायत केही संरचना निर्माणको काम सुरु भएको छ, तर धेरै काम गर्न बाँकी छ’, पूर्व वडाध्यक्ष श्रेष्ठले भने ।